काठमाडौं । जसरी पनि सभापति बन्न विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासँग सम्झौता गरेका शेरबहादुर देउवाले महाधिवेशनका बेलाजुनजुन नेतालाई आफ्नो टिममा राखेर चुनाव लडाएर जिताएअहिले आगामी संसदीय चुनावको परिदृश्यलाई लिएर आन्तरिक रूपमा समीकरण फेरबदलको गृहकार्यमा देउवा खेमाभित्रै हलचल मच्चिएको छ ।
खासगरी नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा देउवा गुटबाट उप सभापतिपदमा निर्वाचित खुमबहादुर खड्काका असल चेला पूर्णबहादुर खड्कालाई ‘साइड’ लगाँदै देउवाले आफूलाई सभापतिमा समर्थन गरेकाकांग्रेसमा तेस्रो ध्रुवका नेता भन्न रुचाउने झापाली कृष्णप्रसाद सिटौलालाई आगामी चुनावका लागि सिट बाँडफाँटका लागि गठित पाँच दलीय संयन्त्रको संयोजक तोकेपछि देउवा समूह भित्रै हलचल मच्चिएको छ ।
देउवाको उत्तराधिकारीको रूपमा हेरिएका खड्कालाई पन्छाएर सिटौलालाई संसदीय निर्वाचन जस्तो आगामी सरकार बनाउने चुनावमा जिम्मा लगाउनुले विगतदेखि देउवाको नाममा राजनीति गरिरहेकाहरूको मथिंगल हल्लिएको छ।
स्थानीय तहनिर्वाचनमा दलीय भागबन्डा र तालमेलका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरे पनि देउवाले सो समितिलाई यसपालि निरन्तरता दिएनन् । देउवाले पार्टी सांगठनिक राजनीतिमा फेरबदलमात्रै गरेनन् कसैले नसोचेका सिटौलालाई भागबन्डामा अघि सारे ।
उच्चस्तरीय निर्देशक समितिको नाममा गठबन्धनको राजनीतिमा रहेका पौडेललाई समेत अधिकार नदिएर सिट बाँडफाँट कार्यदलबनाई सिटौलालाई जिम्मेवारी सुम्पिए, जहाँ निर्वाचित महामन्त्री गगनकुमार थापा रहँदासमेत उनले थापासँग कुनै परामर्श गरेनन् । देउवाको पछिल्लो निर्णयले पार्टीमा विवादको रूप लिएको छ । जुन विवाद यस अघिदेखि कायम विवादको निरन्तरता हो ।
देउवासँग सभापतिमा पराजित भएका शेखर कोइरालाले असार १६ र १७गते काठमाडौंमा भेला गरेर सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको ठहर गर्दै पार्टीभित्र ४० प्रतिशत मत ल्याउने पक्षलाई बेवास्ता गरिएको भन्दै सबै विषयमा सहभागिता सुनिश्चित गर्नु पर्नेमा जोड दिएको थियो । तर, सभापति देउवाले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनालाई न्याय गर्न भन्दा पार्टी भित्रका विभिन्न गुट र समूहहरूमा खेल्दै आफ्नो शक्तिआर्जनमा केन्द्रित भएका छन् ।
देउवा समूहबाट विमलेन्द्र निधि अलग हुँदै १४औं महाधिवेशनमा सभापतिको प्रत्याशी बनेका थिए । त्यससँगै निधिको ठाउँ १३औं महाधिवेशनमा उदाएको कृष्णप्रसाद सिटौलाले लिने अनुमानगरिएको थियो ।
महाधिवेशन पछि अहिले देउवा गुटको सशक्त उपसमूहका रूपमा सक्रिय रहेको विश्लेषण गरिएको थियो । देउवा समूहमै उपसभापति पूर्णबहादुर खड्का, पूर्व उपसभापति विजयकुमार गच्छदार, देउवा पत्नीआरजु राणासहितका उप समूहहरू कांग्रेसमा अहिले सक्रिय छन् ।
पार्टी भित्र उपसभापति खड्का निकै हाबी देखिए, खड्कालाई महामन्त्री विश्वप्रकाश शर्मा, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणको पनि साथ र समर्थन रहेको बताइएको छ ।
देउवा समूहभित्रै आरजु नेतृत्वमा खड्का जस्तै अर्को शक्तिशाली समूह सक्रिय छ । पार्टी प्रवक्ता प्रकाशशरण महतसहितका नेताहरू रहेको उक्त समूह सरकार र पार्टी सञ्चालनमा हाबी छ । देउवा नेतृत्वको संस्थापन भित्र पनि उपसभापति खड्का र नेत्री आरजू समूहबीच पार्टी र सरकार सञ्चालनमा टकराव रहेको निकट स्रोतको दाबी छ ।
देउवा समूहभित्रका उपसमूहहरू आआफ्नो शक्ति आर्जनका लागि सक्रिय रहेका बेला आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धन भित्र चुनावी तालमेलको जिम्मेवारी भने नेता सिटौलाले पाएका छन् । सिट बाँडफाँटको टुंगो लगाउन गठन गरिएको ११ सदस्यीय पाँचदलीय कार्यदलको संयोजकको जिम्मेवारी नै सिटौलालाई दिँदै देउवाले आफूपछिको ठाउँ उनलाई दिएको अनुमान गरिएको छ । पार्टी महामन्त्री गगन थापा सोही समितिको सदस्य छन् । त्यसले गर्दा कांग्रेस राजनीतिमा सिटौला फेरि हाबी हुन थालेको आकलन गर्न थालिएको छ ।





प्रतिक्रिया