देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरी लगाएरै बञ्चरेडाँडामा फोहर फाल्न सुरु

देशान्तर

काठमाडौँ – केहीबेरको अवरोधपछि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फेरि फोहर फाल्न सुरु भएको छ ।

फोहर बोकेर गएको गाडीलाई दिउँसो त्यहाँका स्थानीयवासीले रोके पनि अहिले सुरक्षाकर्मीको उपस्थितिमा फोहर फाल्ने काम चलिरहेको छ ।

काठमाण्डौबाट गएका र नुवाकोटकै गरी दुई सय जनाभन्दा धेरै सुरक्षाकर्मीले अहिले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सुरक्षा दिइरहेका छन् । अहिलेसम्म ५५ वटा गाडीभन्दा धेरै फोहर फालिएको नुवाकोट प्रहरीले जनाएको छ । दिउँसो स्थानीयवासीको अवरोध खुलाउन पुगेका प्रहरी र उनीहरूबीच सामान्य झडपसेमत भएको थियो ।

काठमाण्डौ महानगरले आज दुई सय वटाभन्दा धेरै गाडी फोहर बञ्चरेडाँडामा लोड गरेर पठाएको थियो । जसमा अहिलेसम्म ५५ वटाभन्दा धेरै गाडीको फोहर झारिएको छ । बाँकी फोहोर पनि फाल्ने काम चलिरहेको छ । काठमाण्डौ महानगरपालिकाले आज नेपाल टिपर व्यवसायी सङ्घसँग डिजल र चालक भत्ता दिने गरी दुई सय वटाभन्दा धेरै टिपर भाडामा लिएर बञ्चरेडाँडामा फोहर पठाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । अवरोधका कारण भाडाका टिपरले पनि दिउँसो फोहोर फाल्न पाएका थिएनन् । अहिले सुरक्षाकर्मीको सहायतामा फोहर फाल्ने काम भइरहेको उनले बताए।

स्थानीय सङ्घर्ष समितिले सरकारसँग सहमति गरेर आन्दोलन फिर्ता लिइसकेको भए पनि आज फेरि केही स्थानीयवासीले फोहर फाल्न अवरोध गरेका हुन् । स्थानीयवासीको आन्दोलनमा सबैजसो दलले पनि साथ दिएका छन् ।