देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाण्डौबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिए, प्रहरी पुग्दै

देशान्तर

काठमाडौँ – काठमाण्डौबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिएका छन् ।

केही गाडी सिसडोल र केही त्योभन्दा तल रोकिएका काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

स्थानीयबासिन्दाको अवरोध आज पनि कायमै रहेकाले सुरक्षाकर्मीको उपस्थितिमा फोहोर बञ्चरेडाँडामा पुर्‍याइने उहाँले बताए । उनका अनुसार प्रहरीको टोली पुगिनसकेकोले अहिले फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् । प्रहरी पुग्नासाथ फोहोरका गाडीलाई बञ्चरेडाँडामा पुर्‍याइनेछ । काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापन हुने ठाउँ बञ्चरेडाँडामा स्थानीयबासिन्दाको अवरोध कायमै छ ।

हिजो फोहोरका गाडीलाई लैजाने क्रममा स्थानीयबासिन्दा र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका थिए । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पर्ने धुनिबेशी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सडक मर्मतको काम पूरा नगरी फोहर लैजान थालिएको र फोहर बोक्ने गाडीमा लिच्चड ट्याङ्की अर्थात् फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको भन्दै स्थानीयबासिन्दाले आन्दोलन गरेका हुन् । फोहोर र त्यसबाट निस्कने लिच्चडले गाउँ नै दुर्गन्धित पारेको वडा अध्यक्ष तामाङले बताए ।

यसअघि लिच्चड बग्न नदिने, फोहोरलाई पुर्ने, दुर्गन्ध फैलिन नदिन औषधि छर्कने जस्ता सम्झौता भए पनि त्यो पालना नभएको तामाङले बताए । स्थानीयबासिन्दाको अवरोधकै बीच हिजो काठमाण्डौ महानगरपालिकाले १ सय ९० वटा गाडीलाई बञ्चेडाँडा पुर्‍याएको थियो । स्थानीयबासिन्दाले अवरोध नगरे आज २ सय ५० वटा गाडी बञ्चरेडाँडामा पुर्‍याउने तयारी छ ।

लामो समयदेखि फोहोर नउठ्दा काठमाण्डौ उपत्यकामा दुर्गन्ध फैलिन थालेको छ ।