काठमाडौँ – निहारिका राजपुत अर्थात् सोनाली कुमारी सिंह प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौ उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई धनुषाबाट हिजो बेलुका पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिएका छन् ।
महोत्तरीकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएका छन् । राजपुतले डीएनए जाँचको मुख्य माग राखे । यसअघि बलात्कारको आरोपमा धनुषा जिल्ला अदालतले युवकलाई सफाइ दिएको भन्दै न्यायाधीश र आरोपित युवकलाई सजाय हुनुपर्ने माग राख्दै निहारिकाले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
गएको शुक्रबार राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । अहिले पनि उन महाराजगञ्जमै उपचारकै क्रममा छन् । यो घटनापछि राजपुतलाई न्याय दिन सरकारलाई चौतर्फी दबाब बढेको छ । यसअघि उन गएको जेठ २७ देखि माइतीघर र वसन्तपुरमा धर्ना र अनसन बसेका थिए। गएको असार ३ गते माग पूरा गर्ने प्रतिबद्धतासहित गृहमन्त्री बालकृष्ण खाणले अनसन तोडाएका थिए।
सहमतिपत्रमा आरोपित व्यक्ति र आफ्ना छोराको डीएनए परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र छोराको सुरक्षा, आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय प्राप्तिका लागि राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने र अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने सहमति भएको थियो ।
तर सहमति कार्यान्वयन नभएपछि उनले फेरि अनसन सुरु गरेका थिए ।





प्रतिक्रिया