काठमाडौँ – नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले नागरिकतालाई सस्तो नबनाउन संसद्को ध्यानाकर्षण गराउएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विश्वका धेरैजसो देशमा नागरिकलाई सस्तो बनाउने कुरा नरहेको उल्लेख गर्दै छिमेकी देशहरूबाट सिकेर भए पनि नागरिकताको विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताएका हो । उनले हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत भएको पनि बताए । उनले सत्तापक्षको गठबन्धनको गलपासोका रूपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जान नहुने बताए ।
उनले भने, ‘हतार–हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ । यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन । जनताका आवाज सुन्दैन । सत्तापक्षको गठबन्धनको गलपासोका रूपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानु हुँदैन । यो नेपाली जाति र नेपालका नागरिकले प्राप्त गर्ने कुरा हो । यसमा कसैको विभेदको दृष्टिकोण छ जस्तो लाग्दैन ।’
सांसद बाँस्कोटाले नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर दिने कुरो नरहेको बताए । उनले संविधानअनुसार नै राष्ट्रपतिले नागरिकता विधेयक सदनमा पुनः सुधार्नका लागि पठाएको बताए । उनले यदि राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन सत्तारूढ दलका सांसदलाई चुनौती दिए ।
सांसद बाँस्कोटाले सत्तापक्षले प्रतिपक्षले रङ फेरेको आरोप लगाएको भन्दै रङ प्रतिपक्षले नभइ सत्तापक्षले नै फेरिरहेको दाबी गरे ।





प्रतिक्रिया