देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान देओस्’

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा यो काम गर्न सक्ने उनले बताए ।

काठमाडौं महानगरपालिका १० मा शनिबार आयोजित सामुदायिक सभा हल उद्‌घाटन कार्यक्रममा नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए ।

इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘स्वचालित मूल्य प्रणाली त छँदै छ, उपभोक्तालाई मारमा पार्दिनु भएन । सरकारले अलिकति पहल गर्नुपर्यो ।’

स्वचालित मूल्य प्रणाली लागु गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दासमेत नेपाल आयल निगमले मूल्य घटाएको छैन । यसबाट सरकारको आलोचना भइरहेको छ ।

उनले सरकारका काम-कारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताए । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने उनको मत छ । उनले काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न सुझाव दिए ।

फोहोरमा राजनीतीकरण भएकामा विरोध जनाउँदै उनले महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरुमा राजनीतीकरण गर्न नहुने धारणा राखे । ‘हामीले गरेका कामबाट समुदायले राहत महसुस गर्नुपर्छ । यसलाई राजनीतीकरण गर्नु हुँदैन,’ नेता सिंहले भने ।

वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठका अनुसार प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रमको १४ लाख रुपैयाँ बजेटमा सामुदायिक सभा हल निर्माण गरिएको हो । त्यसका लागि वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्षमा थप २० लाख रुपैयाँ छुट्याएको उनले बताए ।