देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको आक्रामक चुनावी अभियान

देशान्तर

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने आम निर्वाचनका लागि भदौ १० गतेदेखि २४ गतेसम्मका लागि पहिलो चरणको चुनावी अभियान घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसले चुनावी अभियानअन्तर्गत पहिलोदेखि तेस्रो चरणसम्मको कार्यक्रम घोषणा गरेको हो ।
भदौ १० गतेदेखि २४ गते बीपी जन्मजयन्तीसम्मका लागि दुई हप्ता देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । जिल्ला खटिने केन्द्रीय प्रतिनिधिलाई आज आइतबार अभिमुखीकरण गर्ने छ ।
‘जनताको साथमा कांग्रेस’ नामको अभियानका क्रममा केन्द्रीय प्रतिनिधिले जिल्लामा गएर जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसको चुनावलक्षित अभियान  
‘जनताको साथमा कांग्रेस’ अभियान

अभियानको समयावधि 

  • पहिलो चरण भदौ १० देखिबीपी जन्मजयन्ती भदौ २४ सम्म ।
  • दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि ।
  •  तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि ।

अभियानको चार उद्देश्य
१)     मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने ।
२)     जनताको घर–आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरूपको रूपान्तरण र विकास परियोजनाहरूबारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने ।
३)     कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहोल बनाउने ।
४)     निर्वाचनमा तालमेल गरेर जानु परेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने ।

अभियानका लागि केन्द्रीय एवं अन्य तहका प्रतिनिधिहरू

  •  अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनेछन् ।
  •  ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिहरूले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरूप प्रतिनिधि खटाउने छन् ।

केन्द्रीय प्रतिनिधिको ७ जिम्मेवारी 

अभियान सुरु हुनुभन्दा दुई दिनअघि नै केन्द्रीय प्रतिनिधिहरू खटिएको जिल्लामा पुग्नु हुनेछ र जिल्ला कार्यसमितिको बैठकमा ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रमबारे छलफल गरी निम्न कार्यमा सरिक रहनु हुनेछ ।
१)     १५ दिनसम्म चल्ने अभियानमा केन्द्रीय प्रतिनिधिहरू कम्तीमा पाँच दिन तोकिएको जिल्लामा विविध कार्यक्रममा सहभागी हुनु हुनेछ ।
२)     जिल्लाको सबै निर्वाचन क्षेत्र (एक मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा दुवै प्रदेशसभा क्षेत्र) को निश्चित कुनै कार्यक्रममा केन्द्रीय प्रतिनिधिको सहभागी रहनेछ ।
३)     एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला समिति र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिसहित त्यस क्षेत्रभित्रका महाधिवेशन÷महासमिति÷प्रदेश अधिवेशन प्रतिनिधि, गाउँ–नगरपालिका कार्यसमितिका सभापति, स्थानीय तह निर्वाचनमा निर्वाचित र निर्वाचन लडेका पालिका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुखसहितको बैठक गरी पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेदहरू भुलेर ऐक्यबद्ध भएर निर्वाचनमा होमिन प्रतिनिधिले प्रेरित र अपिल गर्नु हुनेछ ।
४)     गठबन्धनमा रहेका दलहरूबीच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्यांकन गरी थप सहज बन्न ÷ बनाउन केन्द्रीय प्रतिनिधिले आवश्यक सहजीकरण गर्नु हुनेछ ।
५)     निर्वाचनको आचारसंहिता लागू भएपछि इमानदारपूर्वक पालना गर्न पार्टी पंक्तिलाई प्रेरित र प्रतिस्पर्धी दलहरूलाई अपिल गर्नुहुनेछ ।
६)     अभियानका लागि स्थानीय स्थिति र आवश्यकताका आधारमा विविध थप कार्यक्रम तय गर्न र संगठित रूपले कार्यान्वयन गर्न÷गराउन जिल्ला समिति एवं मातहतका समितिहरूलाई सहजीकरण गराउनु हुनेछ ।
७)     पार्टीको स्थानीय तहको विजय अभियानलाई असर पुग्ने ढंगले कुनै पनि गतिविधि पार्टीभित्र कोही कसैबाट भएको थियो, अथवा आगामी निर्वाचनमा असर पुग्ने नकारात्मक गतिविधि कोही कसैबाट भइरहेकोे सूचना छन् भने त्यसलाई गम्भीरतापूर्वक लिएर त्यसको विवरण संकलन गर्ने ।

अभियान अवधिमा सम्पादन गरिने विशेष ७ दायित्व 
आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन यो अभियानको अवधिमा व्यवस्थित ढंगले सम्पादन गर्नुपर्ने ७ जरुरी कार्यहरूबारे पार्टीको आन्तरिक सर्कुलरमा उल्लेख गरिएको छ ।

अभियानमा ७ प्रदेश कार्यसमितिहरूको भूमिका
क)     अभियान प्रभावकारी रूपले सफल बनाउन पार्टीको सातवटै प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
ख)     प्रदेश कार्यसमितिले आफ्नो प्रदेशभित्रका सबै प्रदेशसभा क्षेत्रमा प्रतिनिधि खटाउने छन् ।
ग)     प्रदेशबाट खटिने प्रतिनिधिले केन्द्रीय प्रतिनिधि र जिल्ला सभापतिसँग समन्वय गरेर प्रदेशसभाभित्रका कार्यक्रमहरू प्रभावकारी र सफल बनाउन प्रदेश क्षेत्रीय सभापति र कार्यसमितिलाई सहजीकरण र सहयोग गर्नेछन् ।
घ)     प्रदेश कार्यसमितिले आफ्नो प्रदेशभित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्नेछ ।
ङ)     प्रदेश कार्यसमितिले आफ्नो प्रदेशको अनुकूलता र अपेक्षा अनुरूप अभियानका लागि थप कार्यक्रम तर्जुमा गर्न सक्नेछ ।

अभियानमा जिल्ला कार्यसमितिको भूमिका 
१)     आफ्नो जिल्लाभित्र अभियानको समग्र समन्वय, अनुगमन र नेतृत्व जिल्ला कार्यसमितिले गर्नेछ ।
२)     केन्द्रबाट निर्धारित अभियानलाई व्यापक सफल बनाउन जिल्ला कार्यसमितिले हरेक क्षेत्रका लागि अभियानको कार्ययोजना तय गर्न क्षेत्रीय कार्यसमिति, प्रदेश क्षेत्रीय समिति र पालिका समितिसँग आवश्यक समन्वय गर्नेछ ।
३)     जिल्लाभरका सबै गाउँ–नगरपालिकामा जिल्लाको प्रतिनिधि खटाउनेछ । यसरी खटिएका प्रतिनिधिले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिसँग समन्वय गर्नेछन् र अभियानभरी तत्–तत् गाउँ–नगरपालिकामा क्रियाशील रहनेछन्,                विभिन्न वडा एवं टोलका कार्यक्रम र अभियानमा सहभागी हुनेछन् ।
४)     जिल्ला कार्यसमितिले अभियानलाई सफल बनाउन आफूअन्तर्गतका सबै तह एवं भ्रातृ र शुभेच्छुक संस्थाहरू परिचालन गर्नेछ ।

अभियानमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिको भूमिका 
१)     केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिको उपस्थितिमा जिल्ला कार्यसमितिसँग समन्वय र गाउँ–नगरसमितिसँगको सहकार्यमा क्षेत्रीय कार्यसमितिले अभियानको कार्ययोजना तयार गर्नेछ ।
२)     आफ्नो समितिअन्तर्गतका पदाधिकारी र सदस्यहरूलाई सम्बन्धित वडाभन्दा फरक–फरक वडामा प्रतिनिधि खटाई परिचालन गर्नेछ । यसरी खटिएका प्रतिनिधिले गाउँ–नगर कार्यसमितिसँग समन्वय गरी वडा कार्यसमितिसँगको             सहकार्यमा टोलटोलको कार्यक्रम तय गर्नेछन् र अभियानभर वडाका अभियानमा क्रियाशील रहनेछन् ।
३)     प्रदेश क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभा क्षेत्रीय समितिसँगको समन्वय र आफ्नो नेतृत्वमा आफ्नो प्रदेश क्षेत्रभित्रको अभियानलाई प्रभावकारी बनाउन समूहमा बाँडिएर भूमिका निर्वाह गर्नेछन् ।

अभियानमा पालिका कार्यसमितिहरूको भूमिका 
१)     केन्द्रबाट निर्धारित अभियानलाई व्यापक रूपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने ।
२)     क्षेत्रीय कार्यसमितिले खटाएको प्रतिनिधिसँगको समन्वयमा टोलसम्म अभियान प्रभावकारी बनाउन वडा कार्यसमितिसँग समन्वय गरी हरेक टोलमा प्रतिनिधि खटाउने ।
३)     अभियानकै क्रममा वडा टोलका कार्यक्रमका साथै पालिका कार्यसमितिले पालिका स्तरीय एउटा सार्वजनिक कार्यक्रमको संयोजन गर्ने ।
४)     अभियानका हरेक गतिविधिको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममार्फत व्यापक प्रचार गर्ने । त्यसका लागि चुस्त प्रचार टिम निर्माण गर्ने ।

अभियान केन्द्रीकृत नभई विकेन्द्रित गरिने 
क)     उद्घाटन कार्यक्रम :

  • भदौ १० गते अभियानको उद्घाटन भिन्न जिल्लामा भिन्न–भिन्न स्वरूपमा गरिने छन् । जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आंकलन गरेर कहीँ जिल्लास्तरीय रूपमा, कहीँ जिल्लाको निर्देशन अनुरूप क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका या जिल्लाभर एकसाथ वडा तहमा उद्घाटन समारोह गर्न सकिनेछ ।
  • उद्घाटन समारोहमार्फत अभियानको उद्देश्यबारे सार्वजनिक प्रकाश गरिनेछ ।

ख)     हरेक स्थानीय तह, हरेक वडा र हरेक टोलमा कार्यक्रम :

  • गाउँ–नगरपालिका कार्यसमितिको संयोजनमा अभियानकै बीचमा हरेक स्थानीय तहमा एउटा पालिका स्तरीय सार्वजनिक कार्यक्रम हुनेछ । तर मूलतः सम्पूर्ण अभियान टोल समितिलाई अग्रसर बनाएर टोलकै नेतृत्वमा सम्पन्न गरिनेछ ।

टोल केन्द्रित अभियानको प्रारूप

१)     नेपाली कांग्रेसको विधानको धारा (५) ले टोल कार्यसमितिमा सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिवसहित बढीमा १५ जना रहने व्यवस्था गरेको छ । विधान बमोजिम गठन गर्नुपर्ने टोल कार्यसमितिले पूर्णता नपाएको          भए अभियानको क्रममा टोल समितिलाई पूर्णता दिनुपर्नेछ ।
२)     कतिपय टोलका संयोजक पद यो वा त्यो कारणले रिक्त रहेको वा कुनै पदाधिकारी वा सदस्य पद रिक्त भएको भए यो अभियानको यो अवधि पूर्णता दिनुपर्नेछ ।
३)     टोल कार्यसमितिभित्र पनि फरक विभाग, जिम्मेवारी बाँडफाँड यसबीचमा टुंगो गर्नु पर्नेछ ।
४)     टोल कार्यसमितिको बैठक नियमित रूपले निश्चित समयमा बस्ने टुंगो गराई त्यसको सुरुवात गर्नुपर्नेछ । बैठकको निर्णय वडामा पठाउने व्यवस्था मिलाउनु पर्नेछ ।
५)     टोल केन्द्रित अभियानका लागि वडा कार्यसमितिसँगको समन्वयमा गाउँ–नगर कार्यसमितिले टोल प्रतिनिधि खटाउनेछ ।
६)     अभियानका क्रममा टोलभित्र टोल कार्यसमितिकै ब्यानरमा कम्तीमा एउटा राजनीतिक कार्यक्रम, कम्तीमा एउटा सामाजिक कार्यक्रम, कम्तीमा एउटा मतदाता संवाद (जसमा विशेषगरी नयाँ मतदाताका कुरा सुन्ने कार्यक्रम), एउटा           विकास संवाद (विकास निर्माणका बारेमा छलफल गर्ने), एउटा युवा संवाद (युवा मुद्दाका विषयमा सुन्ने), एउटा महिला संवाद (महिला समूहहरूसँग महिलाका मुद्दाका बारेमा सुन्ने), एउटा दलित समुदाय संवाद (दलित समुदाय र                सामाजिक मुद्दाबारे छलफल गर्ने) र एउटा क्रियाशील सदस्यहरूसँग संवाद (पार्टीको सांगठनिक अवस्था विश्लेषण गर्ने) लगायतका कार्यक्रम गर्नुपर्नेछ ।
७)     कांग्रेसलाई ‘जनता के सुनाउन चाहन्छन्, के अपेक्षा राख्दछन्’, नागरिक पंक्तिबाट सुझाव लिने । कार्यक्रममा आफैं बोल्ने भन्दा पनि अन्तरक्रिया गर्ने र जनताका कुरा सुन्ने हुनुपर्नेछ । सकेसम्म जनताकै आँगनमा छलफल गर्ने                    प्रबन्ध मिलाउनु पर्नेछ ।
८)     अभियानका क्रममा ‘ज्येष्ठ नागरिक सम्मान’ देखि ‘उत्कृष्ट कार्यको सम्मान कार्यक्रम’ सम्म । समाजका पुराना अग्रज, सहिद परिवार, द्वन्द्वकालका घाइते, अवकाश प्राप्त शिक्षक, पुराना कृषक, नयाँ कृषि उद्यमी, साहित्यकार, पूर्व                राष्ट्रसेवक कर्मचारी, खेलाडी, व्यवसायी आदिको सम्मान गर्ने ।
९)     अभियानका दौरान टोलमा सञ्चालन हुने विभिन्न सामाजिक काममा सक्रिय रहने । सामाजिक विकृतिका विरुद्ध अग्रसरता लिने ।
१०)     टोलभित्रको घरधुरी संख्या, घरमुली र परिवारका सदस्य, पेसा व्यवसाय, नेपालभित्र विभिन्न जिल्ला र बाहिर रोजगारीको सिलसिलामा गएको भए सो को विवरणलगायत टोलको विस्तृत विवरण संकलन गर्ने । बाहिर रहेका                        मतदातासँग सम्पर्क र समन्वय गर्न कार्यसमितिको एक जना सदस्यलाई जिम्मेवारी प्रदान गर्ने र आवश्यकताअनुसार सम्पर्क समन्वय गर्ने ।
११)    टोलभित्रका कांग्रेस सदस्यहरूको विवरण, मतदाताको विवरण, नयाँ मतदाताको अध्यावधिक विवरण राखी उनीहरूको घरदैलोमा पुग्ने, समस्या सुन्ने, संवाद गर्ने, पार्टीका गतिविधिबारे जानकारी दिने। मतदाता विश्लेषण गर्दै फरक             टोलको फरक अभिलेख निर्माण गर्ने ।
१२)     राष्ट्रिय राजनीतिमा पार्टीले लिएका अडान र एजेन्डाबारे टोलवासीलाई सु–सूचित गर्ने, भ्रम निवारण गर्ने ।
१३)      टोल कार्यसमितिका सदस्यलाई निश्चित घर र मतदाता संख्या बाँडफाँट गरी ती  मतदातासँग नियमित भेटघाट गर्ने, दुःखसुःखमा सामेल हुने लगायतको जिम्मेवारी दिने ।

अभियानमा भ्रातृ र शुभेच्छुक संस्थाहरूको भूमिका
१)     केन्द्रीय समिति क्रियाशील रहेका भ्रातृ र शुभेच्छुक संस्थाहरूले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँट गरेर आफ्नो देशभरको संरचना परिचालन गर्ने ।
२)      कतिपय भ्रातृ संघको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा, गठन हुनुपूर्व ती संघअन्तर्गतका विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुने ।
३)     भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो संगठनको प्रकृतिअनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने ।

अभियानमा संघीय र प्रदेश राजधानीमा रहेका जिल्ला सम्पर्क समितिहरूको भूमिका
१)     सम्पर्क समितिको बैठक गर्ने, समितिको संरचनालाई पूर्णता दिने, समितिअन्तर्गत विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने ।
२)     पार्टीको जिल्ला समितिसँग समन्वय गरेर प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र एवं पालिका तहसम्मको सम्पर्क समिति अभियान क्रममा विस्तार गर्ने ।
३)     राजधानी आई अध्ययन, व्यवसाय आदिमा सरिक आफ्नो जिल्लाका नागरिकबीच सम्पर्कमा पुग्ने । विवरण संकलन गर्ने ।

अभियानमा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको जिम्मेवारी
१)     विदेशस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो कर्म क्षेत्रमा रहेका सदस्य, समर्थक र शुभचिन्तकहरूलाई मातृभूमिमा हुन लागेको चुनावमा आ–आफ्नो क्षेत्रमा विविध ढंगले सम्पर्क, सुझाव र सहयोगका लागि सक्रिय बनाउने ।
२)     सामाजिक सञ्जालमार्फत अभियानलाई बल पु¥याउने ।

अभियानको अनुगमन
अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिनेछन् र ती समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयनपश्चात्को प्रभावसमेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनेछन् ।

प्रथम चरणको समापन कार्यक्रम
भदौ २४ गते बीपी जयन्तीका दिन अभियानको पहिलो चरणको समापन कार्यक्रम जिल्लाले निर्धारित गरेबमोजिम केन्द्रीकृत रूपमा अथवा विभिन्न तहमा विकेन्द्रित ढंगले विभिन्न कार्यक्रमका साथ हुनेछ ।