देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्य निरूपण विधेयक संसदमा टेबुल

देशान्तर

काठमाडौं – प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत भएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले ‘विधेयक’ प्रस्तुत गरेको हो ।

विधेयक प्रस्तुत गर्दै उनले बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि र दुवै आयोगको पदाधिकारीहरुको पदावधि समाप्त हुन लागेकाले शान्ति प्रक्रियाका काम बाँकी रहन गएको बताए । उनले संक्रमणकालिन न्यायलाई तार्किक निस्कर्षमा पु¥याउन विधेयक आवश्यक रहेको उल्लेख गरे ।

मन्त्री शर्माले नेपालको अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, नेपालको संविधान, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त तथा निर्देशनात्मक आदेश लगायतको आधारमा विधेयक तयार पारिएको बताए ।

त्यस्तै अन्तर्राष्ट्रिय मानव अधिकार तथा मानविय कानूनको विश्वव्यापी मान्यता, संक्रमणकालिन न्यायका सिद्धान्त, पीडित र सरोकारवाला व्यक्तिहरुबाट प्राप्त भएका सुझावहरुलाई पनि समेटिएको उनले स्पष्ट पारे ।

पीडितका माग, अन्तर्राष्ट्रिय संघ संस्थाहरूका चासो तथा द्वन्द्वपीडितलाई केन्द्रमा राखेर विधेयक ल्याएको मन्त्री कोइरालाले बताए ।