देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाँकेको नरैनापुरमा कोशेबालीको खेती गर्न सुझाव

देशान्तर

काठमाडौं – बाँकेको नरैनापुर गाउँपालिकामा खडेरीका कारण रोपाइँ नभएपछि कृषि वैज्ञानिकसहितको टोलीले कोशेबालीको खेती गर्न किसानलाई सुझाव दिएको छ । गहुँखेती अगावै कोशेबाली सम्भव भएकाले धानखेती नभएको सो स्थानमा त्यस्तो बाली लगाउन सुझाव दिइएको हो ।

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालका अनुसार सुक्खा क्षेत्रमा मासखेती गर्न किसानलाई सुझाव दिइएको छ। “उक्त बालीका लागि चिस्यान मात्रै भए पुग्छ”, उनले भने, “यसबाहेक कोशेबाली खेतीको रुपमा तेलहन बालीअर्थात् तोरी खेती र मकै उत्पादन गरेर त्यसलाई साइलेज बनाउन सकिन्छ ।” किसानलाई यसबाहेक नगदे बालीको रुपमा बन्दा गोभी नामक तरकारी खेतीसमेत गर्न सुझाव दिइएको छ ।

“यसबाट किसानले थोरै भए पनि राहत पाउँछन्”, ढकालले भने। पानी नपरेपछि किसानले केही ठाँउमा रोपेको अधिकांश धानको बीउ मर्न लागेपछि नरैनापुर गाउँपालिकाले उक्त क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरेको थियो। सो सुक्खा क्षेत्रमा वास्तविक अवस्थाबारे बुझ्न कृषि अनुसन्धान निर्देशनालय, खजुराका कृषि वैज्ञानिक रामदास चौधरी, कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख ढकाल, बागवानी अधिकृत रामप्रसाद यादव र किसान–२, परियोजनाका टुकनारायण अर्यालसहितको टोलीले स्थलगत अवलोकन गरेको थियो।

बाँकेको उक्त दुर्गम गाउँपालिकामा अधिकांशको जीविकोपार्जन मुख्य आधार खेतीपाती मानिन्छ । नरैनापुरमा चार हजार दुई सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो । यस वर्ष त्यहाँ १५ प्रतिशतमात्रै रोपाइँ भएको छ। रोपाइँ भएकोमध्ये आधाजसो धान पानी नपाएर मर्ने अवस्थामा पुगेको छ । पालिकामा दुई सय ६० हेक्टरमा सिँचाइ हुन्छ तर पानीको स्रोतसमेत सुकेकाले समस्या भएको छ ।