देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज कुशे औंशी, बाबुको मुख हेर्ने दिन

देशान्तर

काठमाडौं – आज भाद्र कृष्ण औंशी अर्थात हिन्दू धर्ममा हरेक शुभकार्यमा चाहिने कुशलाई घर भित्र्याउने दिनका रूपमा मनाइने कुशे औँसी । देशभर कुश भित्र्याएर मनाइँदै छ । यस दिन बैदिक मन्त्रोच्चारणसहित कुशलाई पुरोहितहरुले यजमानका घरघरमा पुर्याउने परम्परा रही आएको छ।

कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा पनि पूजिन्छ । कुशको विशेष प्रकारको औँठी धारण नगरी कुनै पनि धर्म–कर्म गरिँदैन ।

कुशे औंसीको दिनलाई बुबाको मुख हेर्ने दिनको रुपमा पनि मनाइन्छ । यस दिन छोराछोरीहरुले बुबाको मुख हेर्दै मिष्ठान् भोजन गराउनुका साथै बुबालाई मनपर्ने उपहार प्रदान समेत गर्ने गर्दछन । बुवालाई विशेष सम्मान गरिने यो पर्वमा आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने कार्य गर्दछन ।

गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् ।

विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ–आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ ।

‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्ने जनविश्वाश रहिआएको छ ।