देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको चुनावी अभियान : जनताको साथमा कांग्रेस

देशान्तर

काठमाडौं – आसन्न आम निर्वाचनमा एकल बहुमतसहित पहिलो पार्टी बन्ने तयारीमा रहेको मुलुकको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप देशव्यापी अभियान सुरु गरेको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताको व्यापक साथ र समर्थन पाएको विश्लेषणसहित आगामी आम निर्वाचनका लागि पनि कांग्रेसले सोही प्रकृतिको तीन चरणको अभियान थालेको हो।

२०७४को आमनिर्वाचनमा टिठलाग्दो गरी दोस्रो दलमा खुम्चिएको पार्टीलाई पहिलो र शक्तिशाली पार्टी बनाउने उद्देश्यका साथ आफ्नो कुरा सुनाउने मात्र नभई जनताको कुरासमेत सुन्ने नीतिसहित चुनावलक्षित ‘जनताको साथमा कांग्रेस’ अभियान थालेको कांग्रेसले जनाएको छ। पहिलो चरण भदौ १० देखि बीपी जयन्ती भदौ २४सम्म, दोस्रो चरणसमानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुग्ने गरी अभियान सुरु भएको कांग्रेसले जनाएको छ। भदौ २४ गतेसम्म चल्ने १५ दिने पहिलो चरणको अभियानमा जनता माझ गएर आफ्नो कुरा सुनाउने र सुन्ने कांग्रेसको योजना छ। त्यसका लागि कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ भने कम्तीमा पाँच दिन केन्द्रीय प्रतिनिधि तोकिएको जिल्लामा बस्नैपर्ने नियम बनाएको छ।

शुक्रबार सुरु भएको पहिलो चरणको अभियानका लागि तोकिएका सबै केन्द्रीय प्रतिनिधि आआफ्नो जिल्ला पुगेर अभियानमा सहभागी भइसकेका छन्। स्थानीय तहको निर्वाचनमा पनि यसैगरी केन्द्रीय प्रतिनिधि खटाएपनि केही प्रतिनिधि जिल्ला सदरमुकाममात्र पुगेर फर्किएपछि केन्द्रीय कार्यालयले यसपालि त्यसमा कडाइ गरेको छ। अभियानको सफलताका लागि केन्द्रीय प्रतिनिधिसँगै प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र एवं पालिका कार्यसमितिहरूले पनि आवश्यकता अनुरूप प्रतिनिधि खटाउने कांग्रेसले जनाएको छ।

केन्द्रीय प्रतिनिधिलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुनुको साथै गठबन्धनमा रहेका दलहरूबीच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्यांकन गरी थप सहज बन्न/बनाउन आवश्यक सहजीकरण गर्न पनि भनिएको छ। पार्टीको स्थानीय तहको विजय अभियानलाई असर पुग्ने ढंगले कुनै पनि गतिविधि पार्टीभित्र कोही कसैबाट भएको थियो, अथवा आगामी निर्वाचनमा असर पुग्ने नकारात्मक गतिविधि कोही कसैबाट भइरहेकोे सूचना छन् भने त्यसलाई गम्भीरतापूर्वक लिएर त्यसको विवरण संकलन गर्न भनिएको छ। अभियानलाई प्रभावकारी बनाउन कार्यक्रमहरूलाई विकेन्द्रित गर्न पनि निर्देशन दिइएको छ।

अभियानका क्रममा टोल कार्यसमितिकै ब्यानरमा कम्तीमा एउटा राजनीतिक,सामाजिक, मतदाता संवाद, विकास संवाद, युवा संवाद, महिला संवाद, दलित समुदाय संवादका कार्यक्रम गर्नुपर्ने जनाइएको छ। सोहीअनुसार अभियान सञ्चालन गरेपनि कांग्रेसका भ्रातृ संगठनहरूका केन्द्रीय समिति अपूर्ण रहेकाले अभियानको प्रभावकारिताका विषयमा प्रश्न पनि उठेको छ।

जनताको भावना अनुरूपको रूपान्तरण र विकास परियोजनाबारे जनतासँग अन्तरक्रिया गर्ने जनाउँदै कांग्रेसले लिएको नीति, विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा जनतालाई सु–सूचित गर्ने भएको छ। त्यसकै माध्यमबाट आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सहयोग पुग्ने बुझाइमा कांग्रेस छ। निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष पनि उसले राख्नेछ।