काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि र प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरूलाई सामूहिक परिपत्र जारी गरेको छ ।
महामन्त्री गगनकुमार थापाले जारी गरेको ४ पृष्ठ र ४ बुँदाको परिपत्रमा परिपत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्नेहरूको नामावली सिफारिस गर्दा ध्यान दिन आग्रह गरेका छन् । उनले २०७४ सालको निर्वाचनमा प्रतिनिधि र प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचितलाई फेरि पनि समानुपातिकमा सिफारिस नगर्न सवै निकायलाई आग्रह गरेका छन् ।
बिहीबार चार तहका संरचनालाई परिपत्र गर्दै प्रतिनिधि र प्रदेशसभा प्रत्यक्ष र समानुपातिकको नाम पठाउन उनले निर्देशन दिएका छन् । प्रत्यक्षतर्फ बढीमा तीन जना र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई एक महिलासहित बढीमा दुई जनाको नाम केन्द्रमा पठाउन परिपत्र गरिएको छ । नाम सिफारिस गर्दा सहमतिमा हुन नसके बहुमतको आधारमा निर्णय गर्न निर्देशन दिइएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रमार्फत जिल्ला कार्यसमितिमा आएको सूचीलाई रायसहित भदौ २० मा केन्द्रमा पठाउन परिपत्र गरिएको छ । प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तर्फको नामसमेत भदौ २० भित्रमा केन्द्रमा पठाउन निर्देशन गरिएको छ ।परिपत्रमा सिफारिसमा परेका व्यक्तिबाट पार्टीले बनाएको उम्मेदवारलाई जिताउने प्रतिबद्धता फाराम पनि भर्न भनिएको छ ।





प्रतिक्रिया