काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका ७२ जिल्लामा फैलिएको डेंगुको संक्रमणले महामारीको रूप लिँदै छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकामा असारको दोस्रो सातादेखि देखिन थालेको डेंगु संक्रमण भदौको तेस्रो साता नपुग्दै लगभग देशभरि फैलिएको हो । देशभर हालसम्म तीन हजार तीन सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पछिल्लो समय डेंगु संक्रमण बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७२ जिल्लामा डेंगु संक्रमण देखिएको छ । साउनदेखि यता २१ सय ७९ जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ भने सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा देखिएको छ ।
मन्त्रालयका अनुसार बागमती प्रदेशमा १२ सय ९१ जनामा डेंगु देखिएको छ । सबैभन्दा कम संक्रमित सुदूरपश्चिम प्रदेशमा देखिएका छन् । सुदूपश्चिममा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार लुम्बिनीमा ५८३, प्रदेश नम्बर १ मा १४४, गण्डकीमा ५२, मधेसमा ४८ र कर्णाली १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुसदेखि यता ४ हजार १०४ जनामा डेंगु पुष्टि भएको मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
काठमाडौंउपत्यकाका अधिकांश अस्पतालहरू डेंगुका बिरामीले भरिभराउ भएका छन् । डेंगुको संक्रमण तीव्र हुँदै गएपनि सरकारले त्यसलाई नियन्त्रण गर्न अझ ठोस कदम चाल्न सकेको छैन । डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा उपत्यकामा लामखुट्टे खोज र नष्ट गर अभियान थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विशेषगरी ललितपुर र काठमाडौंमा संक्रमण अत्यधिक बढेकाले लामखुट्टे पाइने स्थान खोजेर नष्ट गर्न स्थानीय तहमा अभियान सञ्चालन गरिएको मन्त्रालयको दाबी छ । डेंगु संक्रमण फैलिने जोखिममा रहेका १३९ स्थानीय तह र सातवटै प्रदेश तहमा बजेट पठाइएकोे छ ।स्थानीय तहमा २ करोड ३५ लाख रुपैयाँ र प्रदेश र जिल्लास्तरमा ७५ लाख रुपैयाँ पठाइएको हो । तर, संक्रमण नियन्त्रणका लागि यो वार्षिक बजेट रकम पर्याप्त भने छैन ।





प्रतिक्रिया