देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आगामी निर्वाचनमा सबै मतदाताले रुखमा भोट हाल्न पाउनुपर्ने जिल्ला सभापतिहरुको माग

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आगामी निर्वाचनमा सबै मतदाताले रुखमा भोट हाल्न पाउनुपर्ने माग गरेका छन् ।

बिहीबार बिहान जिल्ला सभापतिहरुले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सबै ठाउँका मतदाताले प्रत्यक्षतर्फ नै रुख चुनाव चिह्नमा मतदान गर्न पाउनुपर्ने माग गरेका हुन् ।

सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा सिटको बाँडफाँट हुने र कतिपय सिट अन्य पार्टीहरुलाई दिनुपर्ने अवस्था रहेकोमा कांग्रेस सभापतिहरुले संघ नपाए सम्बन्धित संघीय क्षेत्रका दुवै प्रदेशसभा क्षेत्र कांग्रेसले राखेर सिटको बाँडफाँट हुनुपर्ने माग गरेका हुन् ।

धादिङ जिल्ला सभापति रामनाथ अधिकारीले प्रदेशका १३ वटै जिल्ला सभापतिहरुको तर्फबाट आफूले सभापति देउवालाई ज्ञापन पत्र बुझाएको बताए । गठबन्धन हुँदा कांग्रेसले चितवन–३, धादिङ–१, सिन्धुपाल्चोक–१, काभ्रे–१, काठमाडौं–२, काठमाडौं–८, रामेछाप, मकवानपुर–१, नुवाकोट–१ र ललितपुर–१ अन्य दललाई छोड्नुपर्ने अवस्था छ । जिल्ला सभापतिहरुले ती क्षेत्रमा संघमा गठबन्धनका अन्य दलबाट उम्मेदवार भए प्रदेशका दुवै क्षेत्र काग्रेसले आफ्नो भागमा राख्नुपर्ने माग गरेका छन् ।

भेटमा कुनै पनि क्षेत्रमा कांग्रेसका उम्मेदवार नहुने अवस्था आउन नदिन आग्रह गरेको दोलखा सभापति बर्मा लामाले जानकारी दिए । बाग्मती प्रदेशमा प्रतिनिधिसभाका ३३ र प्रदेशसभाका ६६ निर्वाचन क्षेत्र छन् ।