काठमाडौं – बिहीबारदेखि काठमाडौं महानगरको नगर प्रहरीले पशुपतिनाथ मन्दिर क्षेत्रमा फुटपाथ र सटरबाहिर व्यवसाय गर्न रोक लगायो ।
काठमाडौं वडा नम्बर ८ का जनप्रतिनिधिसहित महानगर प्रहरीले विहीबार पशुपति क्षेत्रमा रहेका फुटपाथ व्यवसाय हटाएका हुन् ।
काठमाडौं महानगर प्रहरी उपरीक्षक राजु पाण्डेका अनुसार अनधिकृत रुपमा मन्दिर वरिपरि, मन्दिरको बाहिर, सटरभन्दा बाहिर व्यवसाय गरेकाहरुलाई हटाइएको हो । उनका अनुसार शहर व्यवस्थित नभएसम्म अनधिकृत संरचना हटाउने अभियान निरन्तर चल्ने छ ।
‘व्यवसाय सटरभित्र मात्रै गर्नुपर्छ, सटरवालाहरुले बाहिर खाट, टेबल राखेर व्यापार गरिरहेका थिए । त्यो हटाउँर्दै गएका छौं,’ उनले भने,’नहटाए महानगरको गाडीले उठाएर लैजान्छ ।’
बिहीबार काठमाडौं ८ नम्बर वडाभरि अनधिकृत संरचना हटाउन महानगरको टोली अनुगमनमा हिंडेको पाण्डेले बताए ।
काठमाडौं महानगरपालिकाले दैनिक रुपमा अनधिकृत संरचनाको प्रयोजन रोक्ने कार्य गरिरहेको छ । नक्सा विपरीत बेसमेन्टको प्रयोजन, फुटपाथ अतिक्रमण, फुटपाथमा व्यवसाय, सार्वजनिक स्थानमा विनास्वीकृति निर्माण भएका संरचना, नक्सा पास विनाको संरचना पूर्ण रुपमा हटाउने अभियान महानगरले दैनिक रुपमा चलाइरहेको छ । यस्ता संरचनाहरु हटाउन सूचना दिने र नहटाए आफैं हटाउने काम अहिले नगरप्रहरीको दैनिकी नै बनेको छ ।
बिहीबार मात्रै महानगरले अवैध भवनका लागि ९० दिने र पर्खालका लागि ३५ दिने सूचना जारी गरेर नक्सापास गरिसक्न सूचित गरेको छ ।





प्रतिक्रिया