देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले भन्यो- ‘रेल्वे हल्ट’ नामकरण परिवर्तन नगर्नू

देशान्तर

काठमाडाैं – नेपाली कांग्रेसले जयनगर-कुर्था रेलमार्गमा सहिदको स्मृतिमा स्थापना भएको ‘रेल्वे हल्ट’ (प्रतीक्षालय) को नामकरणलाई परिवर्तन नगर्न आग्रह गरेको छ ।

रेलमार्ग स्थापनाका बेला सहिद कामेश्वर यादव र कुशेश्वर मण्डलको नाम जोडिएर स्थापना गरिएको ‘सहिद कामेश्वर–कुशेश्वर हल्ट’ र सहिद सरोज कोइरालाको नाममा स्थापना गरिएको ‘सरोजनगर हल्ट’को नाम परिवर्तन गरिएको जनाइएको छ ।

‘सहिदहरुको योगदानलाई सम्झिन स्थापना गरिएको ती हल्टको नाम परिवर्तन गर्ने काम भएको छ, त्यो अत्यन्तै आपत्तिजनक छ,’ कांग्रेसका नेता डा. शेखर कोइरालाले भने, ‘यो सहिदप्रतिको अपमान हो’, यसलाई कदापि स्वीकार गर्न सकिँदैन ।’

रेलमार्ग स्थापनाको समय धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा सहिद कामेश्वर-कुशेश्वर हल्ट र विदेह नगरपालिकाको दुहबीमा सहिद सरोजनगर हल्ट स्थापना गरिएको थियो ।

‘तर अहिले कामेश्वर-कुशेश्वर हल्टलाई इनरुवा हल्ट बनाइएको छ भने सरोजनगर हल्टको अस्तित्व नै समाप्त पारिएको छ,’ कोइरालाले भने, ‘सहिदको नाम जोडिएर राखिएका दुवै रेल्वे हल्टको अस्तित्व समाप्त पार्ने कार्य हामीलाई स्वीकार्य छैन ।’ यस विषयमा पार्टीले खुलेर बोल्नुपर्छ, यो सहिदप्रतिको सम्मानको कुरा हो ।’

अहिले हल्टमा रेल नरोकिँदा इतिहास मेटिने डर रहेको कांग्रेसका नेता रामकृष्ण यादव बताउँछन् । ‘दुहबी बजारनजिकै स्थापना गरिएको सहिद सरोजनगर हल्टमा पहिला रेल रोकिन्थ्यो,’ यादवले भने, ‘अहिले न त्यहाँ रेल रोकिन्छ, न त सहिद सरोजनगर हल्टमा कुनै बोर्ड नै छ । यहाँ सहिद सरोज कोइरालाको इतिहास मेटाउने काम भएको छ यसले हामीलाई दु:खी बनाएको छ ।’

उनले सहिद कुनै पार्टी विशेषको नहुने पनि बताए । ‘सहिद कुनै पार्टी विशेषको हुँदैन, सबैको साझा हुन्छ,’ उनले भने, ‘तर जसरी कांग्रेसको मात्र सहिद हो भन्ने मनसायका साथ सहिदहरूको योगदानमाथि प्रहार गर्ने काम भएको छ, यसलाई हामीले सच्याउनुपर्छ, यसलाई नसच्याए हामी चुप लागेर बस्न सक्दैनौँ ।’

तत्कालीन पञ्चायती व्यवस्थाको सरकारले २०२९ सालमा ल्याएको नयाँ शिक्षा योजनाको विरोधमा नेपाल विद्यार्थी संघले गरेको आन्दोलनको क्रममा प्रहरीसँग धनुषाको यदुकाहामा झडप हुँदा गोली लागेर कामेश्वर यादव र कुशेश्वर मण्डलको मृत्यु भएको थियो ।