देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : सुदूरपश्चिमबाट सात सय खेलाडी सहभागी हुँदै

देशान्तर

काठमाडौं – आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय बढी खेलाडी सहभागी हुने भएका छन् ।

नवौँ राष्ट्रिय खेलकुदमा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिमले भाग लिने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले जानकारी दिएका छन् । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा खेलाडी छनोटका लागि एक हजार दुई ८३ पुरूष र आठ सय ७८ महिलालाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

यी मध्येबाट सात सय नौ खेलाडी सो प्रतियोगितामा भाग लिनका लागि छनोट हुने जनाइएको छ । त्यसमध्ये एक सय ९४ खेलाडी सोझै छनोट हुने भएका छन् । सो प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीबाट आवेदन माग गरिएको थियो ।

आवेदन दिएकामध्येबाट विभिन्न खेलका लागि आवश्यक सङ्ख्यामा खेलाडी छनोटको काम आगामी सातादेखि हुने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट अन्तर्राष्ट्रिय र स्थानीय रेफ्री तथा निर्णायक गरी चार सय ७२ खेल पदाधिकारी सहभागी हुने जनाइएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट एक हजार चार सय ८१ जनाको टोली गण्डकी प्रस्थान गर्ने बताइएको छ । प्रदेश खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दैनिक रु दुई हजारका दरले भत्ताको व्यवस्था गरिएको सदस्यसचिव सिंहले बताए।

प्रदेश सरकारको बजेटबाट परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणदेखि खेल सकिएको भोलिपल्टसम्म दैनिक रु दुई हजारका दरले भत्ता दिने व्यवस्था गरिएको उनको भनाइ छ ।