देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाँच वर्षमुनिका बच्चामा कान पाक्ने समस्या बढी

देशान्तर

काठमाडौं – टीकापुरका रमिला जोशीका दुई सन्तान छन् । उनका दुवै सन्तान साना हुँदा कान पाकेर हैरानी भयो । लामो उपचारपछि कान पाक्ने समस्या समाधान भयो ।

“पहिलो बच्चा हुर्काउँदा पनि काम पाकेर हैरानी भयो, जतिपटक रुघाखोकी लाग्थ्यो, त्यतिपटक बच्चाको कान पाक्ने समस्या पनि हुन्थ्यो”, उनले भनिन्, “दोस्रो बच्चा हुर्काउँदा धेरै सचेत थिए । दोस्रो बच्चा पनि कान पाकेर दुःख पाएँ ।” उनका बच्चाको कान पाक्ने समस्या लामो उपचारपछि निको भएको उनी बताउँछिन्। “अहिले बच्चा ठूला भए, उनीहरूमा समस्या छैन”, उनी भन्छिन्, “अहिले पनि नुहाउँदा कानमा रुइ हालेर नुहाउने, नदी खोलामा ननुहाउने, रुघाखोकी लागेमा तुरुन्तै उपचारमा जानेजस्ता कार्य गर्छौँ ।”

टीकापुरकै सुधा विकको बच्चा अहिले एक वर्षको छ । उनको बच्चा छ महिनाको भएदेखि बच्चाको कान पाक्ने समस्या छ । बच्चालाई रुघा लागेको समयमा बच्चाको कान पाक्छ । उपचार गरे निको हुन्छ, फेरि पाक्ने समस्याले सताएको उनको भनाइ छ । “बच्चा बिरामी भएका बेला निकै दुःख हुन्छ, अझ कान पाकेका बेला बच्चा कान समातेर निकै रुन्छ”, उनले भने, “सरसफाइ र स्याहारमा ध्यान दिँदादिँदै पनि बच्चालाई कान पाक्ने समस्या भयो ।”

उनी कतिपयले दूध चुसाउँदा सुतेर खुवाउन नहुने, कानमा दूध वा पानी पसेमा पाक्छ भनेकाले आफू सतर्कता अपनाउँदा–अपनाउँदै पनि समस्या भएको बताउँछिन् । “रातिको समयमा पनि स्तनपान गर्दा सचेत रहन्थे, तर पनि कहाँनेर कमजोरी भयो”, उनी भन्छिन्, “अहिले चिकित्सकको सल्लाहअनुसार उपचार गरिरहेकी छु ।”

निर्मला चौधरीको बच्चालाई कान पाक्ने समस्या बल्झिएपछि लामो समय उपचार गर्नुपर्‍यो । बच्चाको कान पाकेर समयमै उपचार नपाउँदा उनको बच्चाको कानबाट पिप बग्न थालेपछि उनी उपचारमा लागिन। “श्रीमान् घरमा हुनुहुन्थेन, बाहिर गएर उपचार गर्ने रकम थिएन”, उनले भनिन्, “पछि बच्चाको कानबाट पिप बग्न थालेपछि समूहबाट ऋण लिएर उपचारमा गए । लामो समयसम्म बच्चालाई औषधि खुवाउनु र कानमा राख्नुप¥यो, अहिले सञ्चो भएको छ ।”

बालबालिकामा विभिन्न समस्या देखिन सक्छन् । साना बालबालिका ठूला बालबालिकाका तुलनामा बढी बिरामी हुन्छन्। पाँच वर्षमुनिका बालबालिकामा कान पाक्ने समस्या बढी हुनेहुँदा समयमै उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार नाक र कान जोड्ने एक किसिमको पाइप हुन्छ । यसले कानमा भएको हावाको प्रेसरलाई व्यवस्थापन गर्छ ।

बच्चामा रुघाखोकी लागेपछि त्यही पाइप हुँदै कानमा सङ्क्रमण हुने भएकाले कान पाक्छ र त्यसैले दुखाइ हुने टीकापुर अस्पतालका बालरोग विशेषज्ञ डा अमरनाथ ठाकुर बताउँछन्। “सानो उमेरका बालबालिकालाई बढी रुघा लाग्ने भएकाले उनीहरुमा कान पाक्ने समस्या देखिन्छ”, उनी भन्छन्, “बालबालिकालाई रुघा लाग्नेबित्तिकै उपचार गर्नुपर्छ । कान पाक्ने समस्या बारम्बार भयो र राम्रोसँग उपचार गरिएन भने ती बालबालिकाको कानको जालीमा प्वाल पर्नसक्छ ।”

समयमै उपचार नपाए कानको जालीमा प्वाल परेपछि हरेकपटक रुघा लाग्दा कानबाट पिप निस्कने समस्या हुनसक्ने भएकाले सतर्कता आवश्यक रहेको उनको भनाइ छ । “साना बालबालिकाले आफ्नो सरसफाइ आफैँ गर्न सक्दैनन्, यस्तो बेलामा रुघाखोकी बढी लाग्नसक्छ । रुघाखोकी लाग्नेबित्तिकै उपचार गर्नुपर्छ”, उनले भने, कान पाकेका बच्चाको समयमै उपचार नभएमा बालबालिकाको सुनाइमा समस्या हुनसक्छ ।”