देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वप्रधानन्यायाधीशहरु महाअभियोग सिफारिस समितिमा नजाने

देशान्तर

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले बयानको क्रममा नाम लिएका चार पूर्वप्रधानन्यायाधीश महाभियोग सिफारिस समितिमा नजाने भएका छन् ।

उनीहरुले आपसी छलफल गरेर पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुसार समितिको बैठकमा सहभागी हुन नसक्ने निधो गरेका हुन् ।

समितिको बैठकले बिहीबार पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुलाई सोधपुछका लागि बोलाएको थियो ।

‘हामीले यसबारेमा सामान्य छलफल गर्यौं र जान सम्भव नहुने निष्कर्ष निकालेका छौं,’ एक पूर्वप्रधानन्यायाधीशले भने, ‘हामी पूर्वन्यायकर्मी हौं, हाम्रा आफ्ना सीमा र मर्यादाहरु छन् । समितिले बोलाएपछि हामी जानसक्ने अवस्था रहेन । नजाने भनेर खबर पठाएका छौं ।’
उनीहरुले केहीबेरमा यसबारे आधिकारिक धारणा समेत सार्वजनिक गर्ने तयारी गरेका छन् ।

निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोगमााथिको बयानका क्रममा चार पूर्वप्रधानन्यायाधीशहरुलाई अवकाशपछि समेत अदालतमा आफ्नो भाग खोजेको आरोप लगाएका थिए ।

मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधिसभा विघटनदेखि जबराविरुद्ध सर्वोच्च अदालतमा आन्दोलन हुँदा विज्ञप्ति निकालेर आफ्ना धारणा राखेका थिए । त्यसमाथि आक्रोश पोख्दै निलम्बित प्रधानन्यायाधीश जबराले उनीहरुमाथि भाग खोजेको आरोप लगाएका थिए ।

हिजो नै सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि पूर्ण बैठकमार्फत समितिमा जान नसक्ने निर्णय गरेका थिए ।