काठमाडौँँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालीन नेकपा सरकारले संविधानको भावना, मर्मअनुसार काम नगरेको र संसद्लाई दुई पटक भङ्ग गरेका कारण संविधान जोगाउनका लागि गठबन्धन सरकार बनेको दाबी गरेका छन् ।
आज काठमाण्डौमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले भने, ‘झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसद्लाई दुई पटक भङ्ग गरेको कारणले संविधानलाई जोगाउनको लागि बनेको हो यो गठबन्धन सरकार । देश ठूलो दुर्घटनाबाट जोगाएर ट्र्याकमा लैजाने काम यो सरकारले गरिरहेको छ ।’
गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै उनले आउँदो चुनावबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरुले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्ने बताए ।
साथै नेता सिंहले वाग्मती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताएका छन् । उनले काठमाण्डौ जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताए । उनले वाग्मती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने गरेर अघि बढ्ने प्रतिबद्धता जनाउए ।
उनले तत्कालीन नेकपाको सरकारले सङ्घीय कानुन समयमा नबनाइदिएको कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको पनि बताए ।





प्रतिक्रिया