देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अछाम पहिराेको घाइतेको उद्धार र बेपत्ताको खोजीमा जुट्न गृहमन्त्री खाँणको निर्देशन

देशान्तर

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेको उद्वारमा तत्काल हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका हुन् ।

गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकप्टरको व्यवस्था गर्न उनले निर्देशन दिएका हुन् ।

उनले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे आज जानकारी लिएका थिए ।

उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउधनको रक्षा गर्नुभएको भन्दै बाढी र पहिरामा परी घाइते भएकाको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्थापनका लागि कुनै कसर बाँकी नराख्न र जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखी पठाउन निर्देशन दिएका छन् ।

अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा विपद्मा परेर नौजनाको मृत्यु भएको र २० जना घाइते भएको जानाकारी आएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रजिअ मरासीनीका अनुसार कमलबजार नगरपालिका–६ को ठाँटीघाटमा गएको पहिरामा परी चारजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

त्यस्तै कमलबजारकै वडा नं ८ मा चाउरे दमाइँको घर पुरिँदा परिवारका पाँचजनाको मृत्यु भएको जानकारी आएको छ । त्यस्तै ढकारी गाउँपालिकामा एक घर पुरिएर तीन घाइते भएको र एकजना बेपत्ता रहेका छन् ।

तुर्माखाद गाउँपालिकामा पनि नौजना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताए ।