देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाकिस्तानमा अविरल वर्षा र बाढीका कारण १५ सयभन्दा बढीको मृत्यु, १२ हजार घाइते

देशान्तर

इस्लामावाद – पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सय भन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२ हजार भन्दा बढी घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएम) ले जनाएको छ।

एनडीएमएले शनिबार साँझ जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढी सम्बन्धी दुर्घटनामा ज्यान गुमाउनेमा पाँच सय ५२ बालबालिका र तीन सय १५ महिला रहेका छन् । देशको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी प्रभावित क्षेत्र भएको छ । यहाँ यस प्रकोपमा परी छ सय ७८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

त्यसपछि उत्तरपश्चिम खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरू छन् जसले क्रमशः तीन सय ६ दुई सय ९९ जनाको मृत्यु भएको जनाइएको छ । यसबाहेक, पाकिस्तानका विभिन्न भागहरूमा १९ लाख ४३ हजार नौ सय ७८ घरहरू ध्वस्त भएका र नौ लाख ४३ हजार नौ सय नौ पशुधनको मृत्यु भएको जनाइएको छ ।

यस मौसमी वर्षा र बाढीकोकारण १२ हजार सात सय ३५ किलोमिटर लामो सडक र तीन सय ७५ पुलमा क्षति पुगेको उल्लेख गरिएको छ । यसका अतिरिक्त ८१ जिल्ला र अनुमानित तीन करोड ३० लाख ४६ हजार तीन सय २९ मानिस बाढीबाट प्रभावित भएका एनडीएमएले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी रहेको छ ।