देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्री शर्माको आग्रह

देशान्तर

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाको लगानी औद्योगिक र उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्नेमा जोड दिएका छन्। निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले औद्योगिक एवं उत्पादनमूलक क्षेत्र लगानी अभावमा समस्यामा पर्न नहुने बताए ।

ती क्षेत्रको विकासबिना देशको आर्थिक विकास सम्भव नभएको उल्लेख गर्दै उनले लगानीको अभावमा ती क्षेत्र धारासयी बन्न नहुने उल्लेख गरे। अर्थमन्त्री शर्माले परियोजनालाई धितो राखेर नै लगानी गर्ने प्रबन्ध गरिनुपर्नेमा जोड दिए । उनले ग्रामीण अर्थतन्त्रको विकास नगरिकन मुलुक आर्थिक रुपमा सबल बन्न नसक्ने स्पष्ट पारे ।

हालको नीतिले बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा ऋण दिइए पनि त्यसैबाट घर जग्गामा लगानी हुने अवस्था देखिएको भन्दै उनले यस्ता विषयमा सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्रको लगानी उत्पादनमूलक क्षेत्रमा हुनुपर्छ । औद्योगिक र उत्पादनमूलक क्षेत्रलाई दुई प्रतिशत कम ब्याजमा ऋण दिनुपर्छ ।’ आयात प्रतिस्थापन गर्नका लागि उत्पादन वृद्धि गर्नुको विकल्प नभएको र त्यसका लागि थप लगानी आवश्यक रहेको उनले बताए ।