देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना

देशान्तर

काठमाडौं – बङ्गलादेशको आर्टशाला कला केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना गरिएको छ ।

तीन दिन अघि नेपाल आइपुगेको बङ्गलादेशी आर्टशाला केन्द्रको कलाकार समूहले गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृति विभागको सहकार्यमा बुधबारदेखि ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा कला प्रदर्शन गरेको हो । प्रदर्शनीमा बङ्गलादेशका ५० कलाकारले कोरेका तस्बिर प्रदर्शनी गरिनुका साथै नेपाली वरिष्ठ कलाकार श्यामसुन्दर यादव र सिजन पोखरेलको कला प्रदर्शनीमा राखिएको छ ।

यस्तै, बेलायती कलाकार नौसीन फर्जाना र डेनमार्कका कलाकार सुसाना हेरेन्ससिनीमीको कलासमेत प्रदर्शनीमा राखिएको छ । होविगञ्ज चारुखोला एकेडेमीका निर्देशक एवं आर्टशालाका सञ्चालक आशिष आचार्यले आर्टशालाले पहिलोपटक नेपालमा आएर अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शन गरेको जानकारी दिए। उनले कला प्रदर्शनीले नेपाल र बङ्गलादेशको सम्बन्ध झन मजबुद बनाएको बताए। संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु बङ्गलादेशी कलाकारका लागि खुसीको कुरा भएको उनको भनाइ छ।

जिपी कोइराला फाउण्डेशन, कला तथा संस्कृति विभागका प्रमुख एवं मिथिला येँ आर्ट ग्यालरीका श्यामसुन्दर यादवले फाउन्डेशनले संसारभरका कलाकारलाई जोड्ने काम गर्दै आएको बताए। विगत १७ वर्षदेखि सञ्चालनमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकिएको छ। कला प्रदर्शनी तीन दिनसम्म चल्नेछ।