देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजमार्गका प्रचार सामग्री हटाइँदै

देशान्तर

काठमाडौं – चितवनको इच्छाकामना गाँउपालिकाले राजमार्गमा राखिएका होर्डिङबोर्डका प्रचार सामग्री हटाउन सुरु गरेको छ। गाउँपालिकाको अनुमतिबिना अनधिकृतरूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो।

एक हप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि गाउँपालिका आफैँले हटाउन थालेको अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनले राजमार्ग क्षेत्रलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री सबै हटाइने र व्यवस्थित गरिने बताए।

“गाउँपालिकालाई कर तिरेर व्यवस्थितरूपमा राजमार्गबाट १५ मिटर छाडेर होर्डिङबोर्ड राख्नुपर्छ, अन्यथा सबै खाली गर्छौँ”, उनले भने। धादिङको सिमाना मौवाखोला र भरतपुर महानगरपालिकाको सिमाना रिद्धीखोलासम्मको राजमार्ग क्षेत्र गाउँपालिकाको पर्छ। यस क्षेत्रमा झण्डै २४ कम्पनीका एक सय बढी होर्डिङबोर्ड रहेको गाउँपालिकाले जनाएको छ।

घुमफिर वर्ष

बागती प्रदेश सरकारले यस वर्षलाई घुमफिर वर्षका रूपमा मनाउने भएको छ । बागमती प्रदेशभित्रका पर्यटकीयस्थलको प्रचार–प्रसार र पवद्र्धन गर्ने उद्देश्यले घुमफिर वर्ष मनाउन लागिएको हो ।

बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसका अवसर आज घुमफिर वर्ष २०७९/८० को शुभारम्भ गर्दैछ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले चितवनको सौराहाबाट घुमफिर वर्ष घोषणा गर्न लागिएको जानकारी दिइएको छ। कोभिड १९ ले पर्यटन क्षेत्रलाई धेरै असर गरेको भन्दै यहाँको प्रकृतिक सांस्कृति सम्पदाको प्रवद्र्धन गर्न घुमफिर वर्ष मनाउन लागिएको बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका शाखा प्रमुख उत्तम चापागाईँले जानकारी दिए।

सौराहाबाट शुभारम्भ गरिएको कार्यक्रम प्रदेशका १३ वटै जिल्लामा सञ्चालन हुने उनको भनाइ छ। बागमती प्रदेशमा धेरै धार्मिक पर्यटकीयस्थल भएकाले तिनीहरूको उजारसँगै प्रचार–प्रसार गर्नका लागि बागमती प्रदेश सरकारले गत भदौ १६ गते गरेको निर्णयानुसार घुमफिर वर्ष मनाउन लागिएको कार्यालयका उपससचिव रमेश पौडेलले बताए। घुमफिर वर्षका अवसरमा बागमती प्रदेशभित्र रहेका सौराहासहित, सैलुङ, मुढे, खाँडादेवी मन्दिरलगायतका स्थानको प्रवद्र्धन गरिने उनले जानकारी दिए।