देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लुम्बिनीका बिजुली बसको यान्त्रिक परीक्षण शुरु

देशान्तर

बुटवल – लुम्बिनी बिकास कोषले एशियाली विकास बैंकबाट अनुदानमा प्राप्त गरेको विद्युतीय बसको यान्त्रिक परीक्षण शुरु गरेको छ ।

१४ वटा विद्युतीय भ्यान र पाँच वटा बस तीन वर्षसम्म थन्किएर बसेका थिए । बिहीबार लुम्बिनीबाट बुद्धसँग सम्बन्धित देवदह, रामग्राम, कपिलवस्तुसहितका पाँच वटा रुटमा पाँच वटा बस संचालनमा आएका हुन् ।

पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक ९एडीबी०ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तीन वर्षदेखि थन्किएर बस्दा चौतर्फी आलोचना बढेको थियो।

बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका सघंसस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई पाँच वटा बस सञ्चालनमा ल्याउने निर्णय गरेपछि बिहीबारदेखि बस संचालनमा ल्याइएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए।

बिजुली बस संचालनको लागि मोडालिटी अहिलेसम्म तय नभएपछि चालक र सहचालक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले एकरएक गाडीको जिम्मेवारी लिएर संचालनमा ल्याइएको हो ।

पाँच वटा बसमध्ये एउटा बस बुटवल(भैरहवा(बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, दोस्रो बस बेलहिया– भैरहवा– एयरपोर्ट हँदै लुम्बिनी, तेस्रो बस नवलपरासी– रामग्राम–भैरहवा–बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, चौथो बस कपिलवस्तु–तिलौराकोटबाट लुम्बिनी र पाँचौँ बस लुम्बिनी वरिपरि सञ्चालन हुने रुट तय गरिएको छ।

परीक्षणकालसम्म बसहरू निःशुल्क रुपमा सञ्चालनमा आउने विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।

कोषले १४ वटा भ्यानहरु भने असोज १५ गतेदेखि परीक्षण सञ्चालनमा ल्याउने छ। लुम्बिनी विकास कोषको मंगलबार बसेको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैँको उपलक्ष्यमा पाँच दिन चार्जिङ स्टेशन र गाडीहरुको मेशिनरी परीक्षणस्वरुप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको थियो।