देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कञ्चनपुरमा तीन पूर्वमन्त्रीको उम्मेदवारी

देशान्तर

काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा तीन जना पूर्वमन्त्रीहरूले मनोनयन दर्ता गराएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेत्री बीना मगरले मनोनयन दर्ता गराएकी छिन्। यसअघिको निर्वाचनमा भारी मतले विजयी भएकी उनी यसपटक अघिल्लो जितलाई निरन्तरता दिने दाउमा छिन् ।

विसं २०७४ को निर्वाचनको प्रतिस्पर्धी दल नेपाली कांग्रेस अहिले उनको साथमा छ । सत्ता गठबन्धनले निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क) मा कांग्रेसका बन्धु राना र (ख) मा पनि कांग्रेसकै दिवानसिंह विष्टलाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङले उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा मगरलाई जिताउन सक्रिय लामा यसपटक भने उनका मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।

एमालेले प्रदेशतर्फ क्षेत्र नं १ को (क) मा वीरबहादुर थापा र (ख) मा पल्लभराज भट्टलाई प्रदेशसभाको उम्मेदवार बनाएको छ । निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको एक सिटका लागि पूर्वमन्त्री मगरसहित आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउद चुनावी मैदानमा अघि बढेका छन् । विसं २०७४ को निर्वाचनमा साउदलाई पराजित गरेका एमाले नेता नरबहादुर धामीसित साउदको दोस्रोपटक चुनावी भीडन्त हुँदैछ । धामी जितलाई निरन्तरता दिने रणनीतिमा हुनुहुन्छ भने साउद हारको बदला लिने पक्षमा यसपटक देखिएका छन्।

क्षेत्र नं २ को प्रतिनिधिसभाको एक सिटमा १० जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सत्ता गठबन्धनले क्षेत्र नं २ को प्रदेशसभा (क) मा माओवादी केन्द्रका नेता ओमविक्रम भाट र (ख) मा कांग्रेस नेता बहादुरसिंह थापालाई अघि सारेको छ ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पूर्वमन्त्री रमेश लेखक र नेकपा एमालेका नेत्री निरुदेवी पालबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लोपटक एमालेका नेता डा दीपकप्रकाश भट्टसित थोरै मतान्तरले पराजित नेता लेखक यसपटक सत्ता गठबन्धन दलका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । यता समानुपातिकबाट सांसद बन्नुभएकी एमाले नेत्री पाललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ चुनावी तालमेल गरेको छ ।

सत्ता गठबन्धनले यहाँको प्रदेश निर्वाचन क्षेत्र नं (क) मा माओवादी केन्द्रका नेता टिकेन्द्रप्रसाद भट्ट र (ख)मा कांग्रेस नेता बेलबहादुर रनालाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपा एमाले र राप्रपाले प्रदेश (क) मा राप्रपाका नेता धर्मराज जोशी र (ख) मा एमालेका नेता सुरेन्द्र विष्टलाई उम्मेदवार बनाएको छ ।

निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि १३ जनाले उम्मेदवारी दिएका छन्। जिल्लामा प्रतिनिधिसभाका तीन सिटमा आइतबार ३१ जना र प्रदेशसभाका छवटा सिटका लागि ५५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।