काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरित हाइड्रोजन ऊर्जाको विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्नसक्ने बताएकी छन् ।
ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ उद्घाटन गर्दै उनले नेपालमा हरित हाइड्रोजन उत्पादन र निर्यातका लागि प्रचुर सम्भावना रहेको बताइन् ।
‘हाइड्रोजनको व्यावसायिक प्रयोग नवीनतम प्रविधि हो । यसको व्यापार सहज भइसकेको छैन । पर्याप्त जलस्रोत उपलब्ध भएकाले नेपालमा यसको सम्भावना अन्य देशको भन्दा बढी छ’, मन्त्री भुसालले भनिन्, ‘हाइड्रोजन ऊर्जा उत्पादन र व्यापारमा नेपालले अग्रणी भूमिका निर्वाह गर्न सक्छ ।’
हाइड्रोजन ऊर्जाका विषयमा विश्वले अहिले विशेष चासो र प्राथमिकतासहित अध्ययन अनुसन्धान गरिरहेको बताउँदै उनले विभिन्न विकसित मुलुकले यसको उत्पादन र उपयोगबारे नीति निर्माण, प्रविधिको अनुसन्धान र अन्वेषणलाई तीव्रता दिएको उल्लेख गरिन् ।





प्रतिक्रिया