काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि इटालीका राजदुत भिन्सेन्जो डे लुकाले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको थियो। इटालियन सरकारले नेपालको विकासमा गर्दै आएको प्रत्यक्ष तथा परोक्ष सहयोगको स्मरण गर्दै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
२०७२ सालमा गएको भुकम्पबाट क्षति भएका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू पुनर्निर्माणमा इटालियन सरकारबाट महत्वपुर्ण सहयोग प्राप्त भएको मन्त्री श्रेष्ठले बताए ।
राजदुत लुकाले विश्वकै निधिका रूपमा रहेका नेपालका सम्पदाहरुको संरक्षण, पुनर्निर्माण तथा जीर्णोद्धारमा इटालियन सरकार सहयोग गर्न इच्छुक रहेको बताए ।
युरोपेली संस्कृति तथा सम्पदाको केन्द्रका रूपमा रहेको इटालीबाट नेपालले पुरातात्विक सम्पदाको व्यवस्थापन तथा संरक्षणबारे शिक्षा लिन चाहेको मन्त्री श्रेष्ठले बताए ।
मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी हनुमानढोका–स्वयम्भू सम्पदामार्ग निर्माण सुरु गरिएको जानकारी दिदै सम्पदामार्ग विश्व पर्यटनकै दुर्लब संयोग रहने र पर्यटन आकर्षणका लागि समेत महत्वपुर्ण रहने बताए।
राजदुत लुकाले इटालीले नेपालको पर्यटन विकासमा सहयोग गर्ने बताए । साथै उनले इटालीयन सरकारले आयोजना गर्ने रोम एक्स्पो २०३० परियोजनाको तयारीबारे पनि मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए।
उनले २०७८ कात्तिकमा गैरआवासीय राजदुतको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका थिए । भारतका लागि आवाशीय राजदुत रहेका लुका नेपालको गैरआवासीय राजदुत हुन । नेपाल र इटालीबीच सन् १९५९ मा कुटनीतिक सम्बन्ध स्थापित भएको थियो ।





प्रतिक्रिया