देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अधिकांश सरकारी कार्यालय सुनसान

देशान्तर

सिन्धुली – जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गरेको छ ।

दसैंको बिदापछि खुलेका कार्यालयमा कर्मचारी तोकिएको पोशाकमा समयमै आइपुगे/नपुगेको यकिन गरी सेवा प्रवाहमा रहेका समस्याका बारेमा जानकारी लिन सोमबार आकस्मिक निरीक्षण गरिएको प्रशासकीय अधिकृत प्रनिसा घिसिङले जानकारी दिइन्।

उनका अनुसार निरीक्षणका क्रममा दसैँ बिदा सकिए पनि कर्मचारी कार्यालयमा नआएको पाइएको छ । विभिन्न १० कार्यालयमा सात कार्यालय प्रमुखसहित ४९ कर्मचारी अनुपस्थित रहेको पाइएको उनले बताइन्। त्यस्तै तीन जना ढिला आइपुगेको र १३ कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको उनले जानकारी दिइन्।

सरकारी नियमविपरीत चलिरहेका कार्यालय प्रमुख तथा कर्मचारीलाई छलफल गरेर आवश्यकतानुसारको कारबाही गर्ने निर्णय भएको उनको भनाइ छ । बिहान १० बजेदेखि तीनवटा टोली बनाएर जिल्लाका विभिन्न कार्यालयमा पुगेको टोलीले दसैँ बिदापछि कार्यालय खुलेको दोस्रो दिन भए पनि केही कार्यालय सुनसान रहेको जनाइएको छ।

सरकारले दसैँ बिदा यही असोज १६ फूलपातीका दिनदेखि २३ गतेसम्म मात्र दिएको थियो। कार्यालय खुलेको पहिलो दिन जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाहेकका अधिकांश सरकारी कार्यालय सुनसान थिए।