काठमाडौँ — काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजामा भएको शंकास्पद घटनापछि एक युवतीको मृत्यु भएको छ । चाबहिल घर भएकी २३ वर्षीया युवतीको आगोबाट जलेर उपचारका क्रममा मृत्यु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले होटेलका कर्मचारी सिन्धुलीको गोलन्जोर गाउँपालिका(६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका(१४ का केशव रिजाललाई पक्राउ गरेको छ । होटेलमा आगोबाट जलेर घाइते भएपछि केशव रिजालले ती युवतीलाई वीर अस्पताल पुर्याएका थिए । त्यहाँ उपचार असम्भव भएपछि वीरले थप उपचारका लागि कीर्तिपुर अस्पताल रेफर गरेको थियो ।
सोमबार बिहान होटेलमा उक्त घटना भए पनि प्रहरीलाई खबर नगरी गुपचुप राखेको भन्दै अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रिजाल भने होटेलमै बसेको र घटना घटाएको आशंकामा पक्राउ परेका हुन् । उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनीहरूलाई काठमाडौं प्रहरी वृत्त मालीगाउँको हिरासतमा राखिएको छ ।
कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ती युवतीको सोमबार बिहान मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा पेट्रोल छर्किएर आगो लागेको देखिएको छ ।
रिजाल र ती युवती प्रेमी(प्रेमिका भएको प्रहरीको आशंका छ । युवतीको शव मंगलबार पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।





प्रतिक्रिया