देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालनमा

देशान्तर

काठमाडौं – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन भएको छ। पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो। पहिरो पन्छाएपछि पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने सडकमा यातायातका साधन सञ्चालन भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ।

बेनी–जोमसोम कोरला सडक आयोजनाको ठेकेदार कम्पनी खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वरका दुईवटा डोजर परिचालन गरेर पहिरो पन्छाइएको थियो। तत्कालका लागि यातायात सञ्चालन भए पनि थप पहिराको जोखिम भएकाले आवतजावतका क्रममा सतर्कता अपनाउन र रातको समयमा ध्यान दिन मिलनचोक प्रहरी चौकीका प्रमुख मुक्त खड्काले बताए।

स्तरोन्नतिको क्रममा रहेको मालढुङ्गा–बेनी सडकको केराबारी खण्डमा सडकमाथिको पाखो चिरा–चिरा परेको छ। सो ठाउँमा सडक विस्तारका लागि ठेकेदारले डोजर प्रयोग गरेर पहाड फुटाएको र जथाभावी ढुङ्गा निकालेकाले पहिरो गएको स्थानीयवासीले बताएका छन्।

मालढुङ्गा–बेनी सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङ आउने जाने सवारीसाधनले मालढुङ्गा–बागलुङ–बेनी सडक प्रयोग गरेका थिए। मालढुङ्गा–बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ को रुइनेडाँडामा पहिराले सडक भासिएपछि सवारी सञ्चालनमा समस्या हुने गरेको छ।