नुवाकोट– आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटलाई आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र सोमबार यहाँ आइपुगेको छ ।
सो निर्वाचन प्रणालीतर्फको पाँच लाख ३२ हजार थान मत रुजु गरेर भण्डारण गरिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए। उनका अनुसार आयोगबाट प्राप्त मतपत्रमध्ये निर्वाचन क्षेत्रअनुसार निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर ठिक पाइएसँगै भण्डारण गरिएको छ ।
निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार उनको निर्वाचन क्षेत्रमा एक लाख २० हजार सात सय ५२ मतदाता रहेको स्थानमा प्रतिनिधिसभातर्फका लागि एक लाख ३३ हजार थान मतपत्र प्राप्त भएको छ ।
यस्तै प्रदेशसभा (क) मा ५९ हजार चार सय ५९ मतदाताका लागि ६६ हजार थान र प्रदेशसभा (ख) मा ६१ हजार दुई सय ९३ मतदाताका लागि ६८ हजार थान मतपत्र प्राप्त भएको छ । उक्त मतपत्र रुजु गरेर ठिक पाइएसँगै लाहाछाप लगाएको कोठामा सुरक्षा घेरामा भण्डारण गरिएको छ ।
यसैगरी निर्वाचन क्षेत्र नं २ मा एक लाख १८ हजार नौ सय ७४ मतदाताका लागि प्रतिनिधिसभातर्फ एक लाख ३१ हजार थान मतपत्र प्राप्त भएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार खड्काले जानकारी दिए। उनका अनुसार उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा ५९ हजार चार सय ५३ मतदाता र प्रदेशसभा (ख) मा ५९ हजार पाँच सय २१ मतदाताका लागि समान ६७–६७ हजार थान मतपत्र प्राप्त भएको छ । ती मतपत्र रुजु गरेर लाहाछाप लगाइएको कोठामा नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएका छन् ।
जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ६३ र समानुपातिकतर्फ ६४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन कार्यक्रमअन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारहरूका लागि ‘उम्मेदवार परिचयपत्र’ वितरणको काम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट भइरहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।
आम निर्वाचनका लागि जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा दुई लाख ३९ हजार सात सय २६ मतदाता कायम छन् । निर्वाचनका लागि जिल्लाभरमा एक सय ३२ मतदानस्थलमा दुई सय ८८ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए।





प्रतिक्रिया