देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजु गुरुङविरुद्ध मुद्दाको पेसी हेर्न नभ्याइनेमा

देशान्तर

काठमाडौँ – सत्ता गठबन्धनको तर्फबाट रुपन्देही २ मा उमेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको रिट हेर्न नभ्याइनेमा परेको छ ।

आफ्नो उमेदवारी खारेजविरुद्ध गुरुङले सर्वोच्च अदालतमा हालेको रिटमा बुधबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो ।

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल उमेदवार रहेको उक्त क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उमेदवारी खारेज गरेको थियो ।

बैंकिङ कसुरमा दोषी रहेको पाइएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उमेदवारी खारेज गरेको थियो । सोही विरुद्ध गुरुङले हालेको रिटमा अन्तरिम आदेशको विषयमा सुनुवाइ गर्न बुधबार न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी परेको थियो ।

हेर्न नभ्याइनेमा परेपछि उक्त रिटमाथि बुधबार सुनुवाइ हुन सकेन । गत आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले रुपन्देही २ का निर्वाचन अधिकृतको कार्यालयले गरेको गुरुङको उमेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यन्वयन नगन अल्पकालीन आदेश जारी गरेको थियो ।

गुरुङको उमेदवारी फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधारमा बदर गरिएको थियो । उनले निर्वाचन आयोगमा उमेदवारी बदरविरुद्ध उजुरी पनि गरेका थिए । आयोगले बदरको निर्णय सदर गरेपछि उन आयोगका विरुद्ध रिट लिएर सर्वोच्चमा पुगेका हुन् ।

गुरुङलाई ७८ पुस १२ मा चेक अनादरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सजाय भएको थियो ।