देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन नेता पौडेलले गरे आग्रह

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्षसम्म सङ्घर्ष गरेर स्थापना गरिएको लोकतन्त्र र संविधानमाथि प्रहार भएकाले त्यसको रक्षाका लागि गठबन्धन आवश्यक भएको बताए ।

वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले आफूहरुको गठबन्धन सही र वस्तुनिष्ठ रहेको बताए।

देशको भविष्य बचाउँदै परिवर्तनको रक्षाका लागि, शान्ति र समृद्धिका लागि हामीहरु एक ठाँउमा उभिएको उल्लेख गर्दै उनले सुशासन, प्रगति र लोकतन्त्रको पक्षमा उभिएकाले वाम लोकतान्त्रिक गठबन्धन एजेण्डासहित अगाडि बढेको स्पष्ट पारे ।

राष्ट्रको प्रतिभा र श्रम शक्तिलाई देशभित्रै राख्ने एजेण्डासहित आफूले निर्वाचन लडेको जानकारी दिँदै उनले भने “देशको अवस्था बदल्नका लागि हामी एक ठाँउमा उभिएका छौँ । राष्ट्र अगाडि बढ्ने बाटो प्रष्ट पारेर अगाडि बढेका छौँ ।” उच्च मनोबलका साथ जनताका घर दैलोमा जान उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

वरिष्ठ नेता पौडेलले गठबन्धनका तर्फबाट उठाइएका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । उनले नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका उम्मेदवार नभनी गठबन्धनको उम्मेदवार भन्ने ठानेर एक अर्कालाई विजयी गराउन आग्रह गरे।