देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कात्तिक १७ देखि भैरहवामा सांस्कृतिक मेला हुँदै

देशान्तर

भैरहवा – लायन्स क्लब अफ लिगेसीको आयोजनामा यही कात्तिक १७ गतेदेखि भैरहवामा १० दिने ‘प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९’ आयोजना हुने भएको छ ।

स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका कलाकारको सहभागिता रहने मेलामा ‘डान्स आइडल प्रतियोगिता’समेत आयोजना हुने छ । भैरहवाको हनुमान मन्दिरमा कात्तिक १७ गतेदेखि २७ गतेसम्म आयोजना हुने मेलामा व्यावसायिक, कृषि, बाल उद्यान, होटल तथा रेष्टुराँ गरी ५० बढी प्रदर्शनीकक्ष रहने आयोजक संस्थाका अध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिए।

कार्यक्रममा स्थानीय कलाकारसँगै राष्ट्रियरूपमा ख्याति कमाएका ज्योति मगर, प्रिती आले, हेमन्त शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, कर्णराज गिरी, प्रिती पासवान, बबिता धिताललगायतले पनि प्रस्तुति दिने उपाध्यायले जानकारी दिए। यस्तै भारतका कलाकार रितेश पाण्डे, समर सिंह, शिल्पीराजलगायत पनि मेलामा आउने उनले बताए।

सामाजिकरूपमा काम गरिरहेको लायन्स क्लब अफ लिगेसीले सेवाको उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जानकारी दिए । रु २५ लाख खर्च अनुमान गरिएको कार्यक्रमबाट जोगिएको रकमबाट अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा अनाथ क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई सहयोग गर्ने उद्देश्य रहेको कार्यक्रम संयोजक राजन शुक्लले बताए।

उनले डान्स आइडलमा प्रथम हुनेलाई रु ३० हजार पाँच सय ५५, द्वितीय हुनेलाई रु १५ हजार पाँच सय ५५, तृतीयलाई रु १० हजार पाँच सय ५५ र रु पाँच हजार पाँच सय ५५ को सान्त्वाना पुरस्कार प्रदान गर्ने जानकारी दिए। यस्तै मेलाको अन्तिम दुई दिन कुस्ती प्रतियोगिताको पनि आयोजना गर्ने उजले जानकारी दिए । कार्यक्रमको प्रवेश शुल्क विद्यार्थीका लागि रु ५० र अन्यका लागि रु ७० तोकिएको छ ।

कोभिडको मारका कारण लामो समयदेखि मनोरञ्जात्मक कार्यक्रम नभएको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुतिले यस क्षेत्रमा मनोरञ्जन दिने उद्देश्य पनि रहेको लायन्स इन्टरनेशनल–३२५ ‘पी’ का कोषाध्यक्ष विनोद खरेलले बताए।

‘मेरो क्लब बलियो क्लब’ भन्ने नारासहित भर्खर स्थापना भएको लायन्स क्लब अफ लिगेसीले आयोजना गर्न लागेको मेलाको प्रयास सराहनीय रहेको लायन्स इन्टरनेशनल–३२५ ‘पी’ का एरिया चिफ सङ्गम न्यौपानेले बताए। उनले सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको क्लबले आगामी दिनमा पनि रचनात्मक कार्य गर्न सुझाव दिए।