काठमाडाैं – नेपाल वायुसेवा निगमले दिल्लीका लागि सोमबार बिहान ‘राखेका’ दुइटा उडान रद्द गरेको छ । निगमले सोमबार बिहानको नियमित र दिउँसोका लागि राखेको चार्टर गरी दुइटा दिल्ली उडान रद्द गरेको हो ।
निगमको वाणिज्य विभागले मातहतका विभागीय प्रमुख, उपप्रमुख तथा उडानसँग सम्बन्धित इकाईहरुलाई अहिले बिहान (सोमबार) को आरए२०५/२०६ काठमाडौं–दिल्ली–काठमाडौं र आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकेको आरए २१७/२१८ काठमाडौं-दिल्ली–काठमाडौंको उडानका यात्रुहरुका लागि सोमबार तय गरेको चार्टर उडान पनि रद्द भएको जानकारी गराएको छ । आफ्ना मातहतका कर्मचारीलाई वाणिज्य विभागले यी दुई उडान रद्द गर्नुको कारण ‘अपरेसनल’ भनेको छ ।
निगम प्रवक्ता अर्चना खड्काका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले जाडोयाम (विन्टर सेड्युल) का लागि जारी गरेको उडान अनुमतिमा आइतबार र शुक्रबारको दिउँसोको उडान र सोमबार र बिहीबारको बिहानको उडान कटौतीमा पारेकाले निगमले सोमबार बिहानको नियमित उडान रद्द गर्नुपरेको हो ।
त्यस्तै आइतबार काठमाडौंमा अलपत्र परेका यात्रुहरुका लागि तय गरेको चार्टर उडानको अनुमति नपाइएपछि निगमले उक्त उडान पनि नगर्ने इमेल कर्मचारीहरुलाई गरेको एक अधिकारीले बताए ।





प्रतिक्रिया