देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अनुमतिविनै उडान गर्न खोजेको भन्दै प्राधिकरणले वायु सेवा निगमलाई स्पष्टीकरण सोध्यो

देशान्तर

काठमाडौँ – नेपाल वायु सेवा निगमले अनुमतिविनै उडान गर्न खोजेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

हिजो आइतवार नेपाल वायु सेवा निगमले प्राधिकरणबाटै उडान स्वीकृति नलिइकनै भारतको नयाँ दिल्लीमा उडान गर्न खोजेको र यो क्रियाकलाप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको विपरीत भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

उडान स्वीकृति नै नलिइकन उडान गर्न खोजेको, गैरकानुनी तरिकाले बोर्डिङ पास वितरण गरेको, यात्रुलाई टिकट बेचेर समयमै खबर नगरिकन अलपत्र पारेको लगायतका घटना गैरसैनिक हवाई उडान ऐन तथा नियमावली, शिकागो महासन्धी, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको उडान मापदण्डलगायतका कानुन विपरीत भएको प्राधिकरणले जनाएको छ ।

आउँदा दिनमा यस्ता गतिविधि दोहोर्‍याएमा निगमलाई थप कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । प्राधिकरणको उडान स्वीकृति नलिइकनै निगमले यात्रुलाई टिकट बेच्दा काठमाण्डौ– दिल्ली उडान प्रभावित भएको छ ।

हिजोका लागि टिकट लिएको दुई सय ७४ जना र आजका लागि टिकट लिएका एक सय ५० जना यात्रु दिल्ली जान पाएका छैनन् ।