देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

देशान्तर

काठमाडौं – देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। झापाको मेचीनगर नगरपालिका-६ ग्यारेज छेउस्थित सडकमा मे.१० प २९१७ नम्बरको स्कुटरको ठक्करबाट साइकलयात्री भारत दार्जलिङ बस्ने २५ वर्षीय रमन सिंहको शुक्रबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अर्घाखाँचीको सितगंगा नगरपालिका-१२ बसेरीमा लु.६ प २८५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालीमा ठोक्किएर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक पाणेनी गाउँपालिका-८ पाली बस्ने ५२ वर्षीय भोज बहादुर थापाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र ठाडा हुँदै जिल्ला अस्पताल अर्घाखाँचीमा थप उपचारको क्रममा मृत्यु भएको हो।

यता पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सामा लु.२ ख २४९ नम्बरको बसले ग.१६ प १४८६ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक स्याङ्जा चापाकोट नगरपालिका-५ बस्ने ४१ वर्षीय मोहन प्रसाद पाण्डेको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्कीको पोखरा महानगरपालिका-१७ बेलघारीस्थित सडकमा ग.३ च ६६३ नम्बरको जीप अनियन्त्रित भई नालीमा पल्टिएर शुक्रबार राति दुर्घटना हुँदा जीपमा सवार घादिङ सिद्धलेक गाउँपालिका-३ सुन्दरपानी घर भई कास्की पोखरा महानगरपालिका-९ पृथ्वी चोक बस्ने २१ वर्षीय फणिन्द्र उपरकोटीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अन्य १ जनाको नमस्ते अस्पताल पोखरामा उपचार भइरेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै महोत्तरीको बर्दिबास नगरपालिका-३ गौरीडाँडास्थित सडकमा प्रदेश २-०२-००१ ह ०९१८ नम्बरको अटो अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका-३ राजाबास बस्ने ५० वर्षीय बल बहादुर भण्डारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरीको रामधुनी नगरपालिका-१ शिव चोकमा को.१ ख ४५४२ नम्बरको बसले प्र-१-०२-०४५ प ४२५३ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, नखुलेका करिब ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उता रामेछापको उमाकुण्ड गाउँपालिका-५ चिलाउने संशरीडाँडामा लु.३ त २४९९ नम्बरको ट्याक्टर सडकबाट करिब ९० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय प्रेम कुमार सुनुवारको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका १ जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डाँडाखर्कतर्फ पठाइएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाराको कोल्हवी नगरपालिका-२ सात नम्बर घोलस्थित सडकमा मधेश प्रदेश ०३-०२३ प ३३३४ नम्बरको मोटरसाइकल र प्रदेश २-०३-००७ प २३४९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा प्रदेश २-०३-००७ प २३४९ नम्बरको मोटरसाइकल चालक रौतहट पिपरीया घर भएका २८ वर्षीय अजय कुमार यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जन नायक अस्पताल कोल्हवी हुँदै थप उपचारको लागि कलैयातर्फ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मधेश प्रदेश ०३-०२३ प ३३३४ नम्बरको मोटरसाइकल चालकको सिटी अस्पताल निजगढ बारामा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।