बागलुङ – विद्यार्थी राजनीतिबाट एकाएक उदाएका डिल्लीराम सुवेदी बागलुङ–१ (२) बाट प्रदेशसभा सदस्य उम्मेदवार हुन्। ससंदीय राजनीतिमा ‘डेब्यु’ मार्ने दाउसहित ३९ वर्षीय सुवेदी चुनावी मैदानमा उत्रिएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार सुवेदी यसअघि नेपाल विद्यार्थी सङ्घमा सक्रिय थिए। नेविसङ्घको केन्द्रीय उपाध्यक्ष हुँदै सिधै मूलधारको राजनीतिमा आएका उनी नेपाली कांग्रेसका कान्छा उम्मेदवारमध्येमा पर्छन् ।
काठमाडौँस्थित शिक्षा क्याम्पसको स्ववियु सभापति भइसकेका सुवेदी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्। शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष सुवेदीले सार्वजनिक शिक्षाको सुधारका पक्षमा वकालत गर्दै आएका छन्।
बागलुङ नगरपालिका–१४ मा जन्मिएका उनलाई सो निर्वाचन क्षेत्रका ४६ हजार ८६ मतदातामध्ये कतिले पत्याउने हुन् त्यसका लागि त मङ्सिर ४ नै कुनुपर्छ । बरु रोचक पक्ष त के छ भने हिजोका राजनीतिक सहयोद्धा नै यो चुनावमा सुवेदीका मुख्य प्रतिस्पर्धी हुन्।
कांग्रेस त्यागेर नेकपा (एमाले)बाट उम्मेदवार बनेका नवराज पौडेलले सुवेदीलाई चुनौती दिएका छन्। सुवेदी र पौडेल सँगसँगै गत वर्ष कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी बनेका थिए। पौडेल कांग्रेसका निवर्तमान जिल्ला सचिवसमेत हुन्। दुवै पहिलोपटक प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका हुन्।
सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापा पनि उम्मेदवार हुनुहुन्छ । बागलुङ–१ ९२० ले जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाका वडा नं १२, १३ र १४ लाई समेट्छ ।
पचास हजार पाँच सय ८० मतदाता रहेको बागलुङ–१ (१) मा भने मुख्य प्रतिस्पर्धीका रुपमा पुरानै अनुहार देखिएका छन् । विसं २०७४ को प्रदेशसभा सदस्य चुनावमा पराजित दीपेन्द्रबहादुर थापा यसपाली पनि उम्मेदवारमा दोहोरिएका छन्। उनका विरुद्ध एमालेले युवा नेता हीराबहादुर खत्रीलाई उतारेको छ ।
थापाले अघिल्लो चुनावमा एमालेका इन्द्रलाल सापकोटासँग हार व्यहोर्नुपरेको थियो । वाम गठबन्धनबाट साझा उम्मेदवार रहेका सापकोटाले १७ हजार नौ सय १५ र थापाले ११ हजार नौ सय ८९ मत ल्याउएका थिए। अहिलेको चुनावमा भने थापालाई पाँच दलीय गठबन्धनको साथ छ भने एमाले एक्लै चुनावी मैदानमा छ ।
कांग्रेसका पूर्वजिल्ला सभापति थापाले यसपालिको चुनावलाई हारको बदला लिने अवसरका रुपमा लिएका छन्। थापालाई एमालेका जिल्ला अध्यक्ष खत्रीको चुनाती छ । विसं २०७० को दोस्रो संविधानसभा चुनावमा पराजित खत्रीलाई एमालेले प्रदेशसभा उम्मेदवार बनाएको छ। यी दुवै यसअघिका चुनावमा परीक्षण भइसकेका पात्र हुन्।
थापा र खत्रीबीचको प्रतिस्पर्धा रोचक हुने ठानिएको छ। यो अन्यत्रको तुलनामा एमालेको जनमत बढी भएको क्षेत्र पनि हो। गत स्थानीय चुनावमा भने यहाँका दुईवटै स्थानीय तहमा कांग्रेस उम्मेदवारले जितेका थिए । बागलुङ–१ (१) मा काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका १ देखि ११ सम्मका वडा पर्छन् ।
यो क्षेत्रमा राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल पनि उम्मेदवार हुन्। यी पनि प्रदेशसभा सदस्य उम्मेदवारमा नयाँ अनुहार हुन् ।
बागलुङ–२ (१) मा दुई जना मात्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट कांग्रेसका जीत शेरचन र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती चुनावमा होमिएका छन् । घर्ती पहिलोपटक ससंदीय चुनावमा उम्मेदवार बनेका हुन् भने शेरचन तेस्रोपटक ।
कांग्रेसका जिल्ला सभापति शेरचन विसं २०७४ र विसं २०७६ को उपचुनावमा बागलुङ–२ (२) बाट चुनाव लडेका थिए। तेस्रोपटकमा जित निकाल्ने दाउसहित उनी चुनावी मैदानमा छन्। दुई–दुई पटकसम्म जसले हराए उनै दलको साथ लिएर शेरचन स्वतन्त्र उम्मेदवार घर्तीसँग प्रतिस्पर्धा गर्दै छन्।
अघिल्लो चुनावमा वाम गठबन्धनको एक्लै सामना गर्नुपर्दा उनी पराजित हुनुपरेको थियो । यसपालि शेरचनले चुनाव क्षेत्र पनि बदलेका छन् । बागलुङ–२ (२) का शेरचन (१) बाट चुनाव लड्दै छन्। एमालेले आफ्नै उम्मेदवार उठाउन नसकेपछि शेरचनका विरुद्ध स्वतन्त्र उम्मेदवार घर्तीलाई समर्थन गरेको छ । लालटिन चिह्न लिएर उम्मेदवार बनेका घर्ती गत स्थानीय चुनावमा ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्रबाट हारेका थिए ।
विसं २०७४ को स्थानीय तह चुनावमा नेकपा (माओवादी केन्द्र)बाट ताराखोला गाउँपालिकाको अध्यक्ष बनेका घर्ती गत चुनावमा पार्टीले उम्मेदवार नबनाएपछि असन्तुष्ट थिए। प्रदेशसभा चुनावमा एमालेको साथ पाएपछि उनी फेरि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका छन्।
विसं २०६२ मा काठमाडौँको ताहचल क्याम्पसको स्ववियु सभापति हुँदै विद्यार्थी राजनीतिबाट जिल्ला पार्टीको नेतृत्वसम्म आइपुगेका शेरचन र स्वतन्त्र उम्मेदवार घर्ती एकार्काका लागि कति चुनौती बन्ने हुन् त्यो त हेर्न बाँकी छ ।
दुई जना मात्र उम्मेदवार रहेकाले सो क्षेत्रको चुनावलाई चासोपूर्वक हेरिएको छ । गलकोट नगरपालिका, ताराखोला र बडिगाड गाउँपालिका सो क्षेत्रमा पर्छन् । त्यहाँ ५४ हजार तीन सय ३४ मतदाता छन् ।
बागलुङ–२ ९२० मा भने मुख्य प्रतिस्पर्धी उम्मेदवार नयाँ छन् । युवा पुस्ताको प्रतिनिधित्व गर्ने कांग्रेसका द्रोर्ण कुँवर र एमालेका लक्ष्मण पुन चुनावी मैदानमा छन्। कांग्रेस महाधिवेशन प्रतिनिधि कुँवर र एमालेका जिल्ला उपाध्यक्ष पुन दुवै पहिलोपटक ससंदीय चुनावमा उम्मेदवार बनेका हुन्।
कुँवरलाई पाँच दलीय गठबन्धनको साथ छ भने पुन एमालेको आफ्नै शक्तिका आडमा जित्ने रणनीतिमा छन् । सो क्षेत्रमा विसं २०७४ को चुनाव र त्यसपछिको उपचुनावमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले जितेका थिए । वाम गठबन्धनसामु त्यतिबेला काँग्रेस कमजोर देखिएको थियो ।
अहिले जिल्लाका निर्णायक दुई वाम शक्ति माओवादी केन्द्र र जनमोर्चालगायतसँग मिलेर कांग्रेस चुनाव लड्दैछ । एकचालीस हजार दुई सय २७ मतदाता रहेको सो क्षेत्रमा ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका पर्छ ।
जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका ताराबहादुर घर्ती, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट नरबहादुर गुरुङ र दुर्गादेवी घर्ती पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन्। मुख्य प्रतिस्पर्धा भने गठबन्धन र एमालेका उम्मेदवारबीच हुनेछ ।





प्रतिक्रिया