काठमाडौँ – नेकपा (माओवादी केन्द्र) की नेतृ एवं पूर्वसभामुख ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न आफ्नो जित झनै सुनिश्चित गरेको बताएका छन् ।
बुधबार काठमाडौं क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले गठबन्धनको अभिमतले चुनाव जित्नेमा ढुक्क रहेपनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताएका हो । सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधि सभाकी साझा उम्मेदवारसमेत रहेकी घर्तीले घरदैलो अभियानमा निर्वाचन क्षेत्रका मतदाताले गरेको स्वागतले आफ्नो टिममा उत्साह थपेको बताए ।
नेतृ घर्तीले चुनावमा जित निकालेपछि जनताको कुनैपनि हक, अधिकारको कटौती नहुने गरी कानून निर्माण गर्ने प्रतिवद्धता जनाए । उनले विजयपछि जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्याउने, खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्ने प्रतिवद्धता जनाए । आम नागरिकहरुले दिएको माया र स्वागतले भोलिका दिनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो कर्तव्य बढेको महशुस भएको उनले बताए।
प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं माओवादी केन्द्रकी नेतृ घर्तीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा ६४ प्रतिशत जनसमुदाय अहिले पनि खानेपानीको पहुँचमा नभएको भन्दै उनीहरुको माग पूरा गर्ने प्रतिवद्धता जनाए । उनले सफा, सुन्दर, सुरक्षित र दिगो विकासको माग जनताले गरेकाले बाटो, पर्यटन क्षेत्रको विकास, स्पोर्ट्स सिटीको अवधारणा, ढल, कोरिडोरको समस्यालाई सरकारको पहुँचसम्म पुर्याउने बताए । चुनावको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय भएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरु पार्टीका चुनावी एजेण्डा लिएर देश दौडाहामा छन् ।





प्रतिक्रिया