देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’ गरे :  वरिष्ठ अधिवक्ता त्रिपाठी

देशान्तर

काठमाडौँ – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै ‘म्याच फिक्सिङ’ गरेको बताएका छन् ।

निर्वाचन पर्यवेक्षण समिति नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्षमा हाम्रो निर्वाचन पद्धति र शासकीय प्रवन्ध’ विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले ठूला नेताहरुले निर्वाचन जित्न पहिले नै म्याच फिक्सिङ गरेको बताएका हुन् ।

उनले मतदाताले आफ्नो चाहनामा मतदान गर्ने अवस्था नरहेको बताए । गठबन्धन र तालमेलको नाममा मतदाताको रोजाईको उम्मेदवारलाई मतदान गर्न नसकिएको उनको भनाई छ । उनले ठूला नेताहरु कसलाई कहाँबाट जिताउने भन्ने पहिले नै पक्का भइसकेकाले नो नट अगेन जति भनेपनि प्रभावकारी नहुने बताए । त्रिपाठीले निर्वाचनपछि पनि देश अस्थिरतामा जाने निश्चित भएको बताए ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले समानुपातिक निर्वाचन प्रणालीलाई नेता व्यवस्थापनका लागि मात्रै प्रयोग गरिएको बताए । उनले निर्वाचन नजित्नेलाई थन्काउनका लागि मात्रै समानुपातिक निर्वाचन प्रयोग भएको टिप्पणी गरे । त्यस्तै समानुपातिकको टिकट बिक्री हुने भएकाले लक्षित समुदायले पाउन नसकेको उनले बताए ।

उनले निर्वाचन आयोगको विश्वसनीयतामा गम्भिर प्रश्न उठेको बताए । निर्वाचन आयोगको पञ्चायती मानसिकता रहेको र पञ्चायतकालमा अञ्चलाधीशले गर्नेजस्तो काम आयोगबाट भइरहेको उनले टिप्पणी गरे । संविधान मिचेर अध्यादेशबाट नियुक्त भएका आयुक्तहरु भएकाले उनीहरुलाई संविधान, कानून र लोकतन्त्रको मतलव नभएको उनले बताए ।