देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक छ : चन्द्र भण्डारी

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आउँदो चुनावबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीवार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाण्डौमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हो । उनले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आउँदो चुनावबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीलाई थाहा छ, नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो । अब जो सुकै होस्, जुन पार्टीको होस्, जतिसुकै ठूलो होस्, मङ्सिर ४ गते यी तत्त्वलाई पराजित गर्नुपर्छ । लुटेको सम्पत्ति नेपाल आमालाई फिर्ता गर्नुपर्छ । युवालाई विदेश पठाएर नेपालमा अवसरको खोजी नगर्ने दोस्रो ठूलो रोग हो ।’

नेता भण्डारीले नेताहरूले लुटेको सम्पत्तिलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको बताए । उनले राजनीतिक दलहरूले नेपालमा रोजगारीको अवसरको खोजी नगरि युवालाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्त्वहरूलाई चुनावमा नागरिकले पराजित गर्न आवश्यक भएको बताए ।

नेता भण्डारीले नेपालले अहिले सात खर्ब रुपैयाँ विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब रुपैयाँ व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई नागरिकले चुनावमा चुन्नुपर्ने आवश्यक्ता भएको बताए। नेपाली राजनीतिमा बेइमान नेताहरू भएको उनको टिप्पणी छ । बेइमान नेताहरूका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकेको उनले बताए ।

नेता भण्डारीले देशलाई दुरावस्थामा पुर्‍याउने नेताहरूलाई आउँदो चुनावबाट बिदाइ गर्नुपर्ने बताए । आउँदो चुनाव आफूले जिते गुल्मीलाई नमुना जिल्ला बनाउने उनले प्रतिबद्धता व्यक्त गरे।