देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आचारसंहिता उलंघनको विषयमा छलफल

देशान्तर

रुपन्देही – जिल्लामा निर्वाचन प्रचारका क्रममा दलहरुबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भएकोप्रति इन्सेकले रुपन्देहीका प्रशासनिक निकायका अधिकारीलाई सचेत गराएको छ ।

रुपन्देहीमा भइरहेको निर्वाचन आचारसंहिता उल्लङ्घनको विषयमा मानवअधिकारवादी संस्था इन्सेकका प्रतिनिधिले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन आचारसंहिता उल्लङ्घनको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिएका छन् ।

इन्सेक कार्यसमिति सदस्य शोभाखर बुढाथोकीसहितको टिमले जिल्ला प्रशासन कार्यालय भैरहवामा गरेको छलफलमा आचारसंहिता उल्लङ्घनलाई सामान्य रुपमा नलिन पनि आग्रह गरे ।

छलफलमा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले अन्य जिल्लाको तुलनामा रुपन्देहीमा निर्वाचनका लागि सुरक्षा तयारी राम्रो भएको बताए । इन्सेकका पर्यवेक्षक सदस्य शिवप्रसाद गौडेलले रुपन्देहीमा चकलेटमा चुनाव चिह्न राखेर बाडेको, लाउड स्पिकर र ठूलाठूला पोस्टर टाँस्ने गरको भन्दै त्यसतर्फ प्रशासनले तत्काल कदम चाल्नुपर्ने सुझाव दिए ।

छलफलमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मतादाताका लागि प्रशासनिक तवरबाट के कस्तो व्यवस्थापन भएको छ भनी आनिक रानाले चासो व्यक्त गरे। इन्सेका जिल्ला प्रतिनिधि रिमा बिसी, गैससको केन्द्रीय सदस्य गोबिन्द रेग्मी लगायतले रुपन्देही जिल्लामा निर्वाचन प्रचारप्रसारका क्रममा दलहरुले आचारसंहिता उल्लङ्घन गरेको भन्दै त्यसतर्फ प्रशासनको ध्यानकर्षण गराएका थिए ।

छलफलमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रशासनिक तवरबाट आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न कुनै कमी नराखिने बताए ।  उनले जिल्लामा सात सय सात मतदान केन्द्रमा आठ हजार कर्मचारी, चार हजार आठ सय ३० नेपाल प्रहरी, आठ सय ८८ सशस्त्र प्रहरी, २९ जना अनुसन्धानका कर्मचारी र आवश्यक्ता अनुसार नेपाली सेना परिचालन गरी पूर्वतयारी गरिरहको बताए । उनले सीमा क्षेत्रमा मङ्सिर १ गते राति १२ देखि ४ गते राति १२ बजेसम्म बन्द रहने पनि जानकारी दिए ।