रुपन्देही – राष्ट्रिय राजनीतिमा चर्चा कमाएका व्यक्तिहरु मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रहेकाले रुपन्देहीको निर्वाचन यतिबेला चर्चामा छ ।
जिल्लामा वर्तमान र पूर्वगृहमन्त्रीको उम्मेदवारीले पनि बढी चर्चा कमाएको छ । गृहमन्त्री बालकृष्ण खाँड क्षेत्र नं ३ मा प्रतिनिधिसभाको उम्मेदवार छन् भने पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल क्षेत्र नं २ मा प्रतिस्पर्धामा छन् । उनीहरु आपसमा प्रतिस्पर्धी त होइन तर उनीहरुको उम्मेदवारी नै यस जिल्लाको निर्वाचनमा चर्चाको विषय बन्न पुगेको छ ।
पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चुनावी मैदानमा छन् । पौडेलसँग राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापाले प्रतिस्पर्धा गर्दै छन् । थापालाई सत्ता साझेदार गठबन्धनको समर्थन रहेको छ ।
गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि थप चर्चा बटुलेको यो क्षेत्रमा एमाले उपाध्यक्ष पौडेल र थापाबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको हो । जिल्लामा नेकपा एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग तालमेल गरेकाले पौडेलललाई यी दुई दलको समर्थन छ ।
‘गठबन्धनको उम्मेदवारी खारेजीले यो क्षेत्रमा पौडेललाई टक्कर दिनसक्ने अरू उम्मेदवार भएनन् जसले गर्दा पौडेललाई निर्वाचन केही सहज देखिएको छ,’ राजनीतिक विश्लेषक ऋषि आजाद भन्छन्,’ जनमुक्ति पार्टीका उम्मेदवार थापा यो क्षेत्रको राजनीतिक वृत्तमा त्यति परिचित अनुहार नरहेकाले विकासे नेताको छवि बनाएका पौडेलको जित सहजदेखिएको उनको भनाइ छ ।
एमाले उपाध्यक्षसमेत रहेका पौडेलले यो क्षेत्रबाट लगातार पछिल्ला तीन निर्वाचनमा जित हासिल गरेका थिए । पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः माओवादीका भक्ति पाण्डे, २०७० मा माओवादीकै डा. बाबुराम भट्टराई र कांग्रेसका सूर्यप्रसाद प्रधान तथा २०७४ मा कांग्रेसका नेता युवराज गिरीलाई पराजित गरेका थिए । यस पटक अझै पराकिलो मतान्तरका साथ विजयी हुने योजना लिएर आफू चुनावी मैदानमा होमिएको पौडेल बताए ।
‘मैले रुपन्देहीलाई विकासको नमुना बनाउने गरी योजना अघि बढाएको छु । हिजो अर्थमन्त्री हुँदा पनि अन्तर्राष्ट्रिय गौतममबुद्ध बिमानस्थल, बुटवल बेलहिया ६ लेन सडक जस्ता दर्जनौँ ठूला योजना ल्याएँ,’ पौडेल भन्छन्, ‘अब ती योजना पूरा गर्न र नयाँ योजना सुरु गर्न जनताले साथ दिने छन् भन्नेमा म विस्वस्त छु ।’
पौडेलले लगातार जित हासिल गरेकै कारण यसपटक पनि मतदाताको साथ पाउने विश्वास व्यक्त गरिरहँदा जनमुक्तिका उम्मेदवार थापा भने स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवार विजयी भएकाले जित हासिल गर्ने दाबी गर्छन् । यसअघिको निर्वाचनमा जनमुक्तीले राम्रो मत पाएको र अहिले गठबन्धनको समेत साथ भएपछि नतिजा आफ्नो पक्षमा आउने थापाको भनाइ छ ।
‘जनमुक्ति पहिलोपटक इतिहास रच्ने गरी चुनावी अभियानमा लागेका छौँ,’ थापा भने । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी खारेज भएपछि विज्ञप्ति प्रकाशन गरेर सत्ता गठबन्धनले थापालाई सहयोग गर्ने बताएको हो ।
प्रदेशसभा सदस्यमा एमालेबाट १९१० मा लिला गिरी, २९२० मा भोजप्रसाद श्रेष्ठ र सत्ता गठबन्धका तर्फबाट क्षेत्र नं २९१० मा दीर्घबहादुर केसी र २९२० मा बामदेव क्षेत्री चुनावी मैदानमा छन् । कांग्रेस महासमिति सदस्य रहेका केसी र माओवादी पोलिटब्यूरो सदस्य रहेका क्षेत्री प्रदेशसभामा पहिलोपटक उम्मेदवार बनेका हुन् भने एमालेका गिरी र श्रेष्ठ २०७४ को प्रदेशसभा निर्वाचनबाट निर्वाचित भई मन्त्री भइसकेका छन् ।
पहिलोपटक प्रदेशसभाको उम्मेदवार बनेकाले काम गर्ने अवसर दिन आग्रह गर्दै गठबन्धनका उम्मेदवारहरु मतदातासँग पुगेका छन् भने आफ्नो कार्यकालमा सुरु भएका कामको पूर्णता र नयाँ योजना थालनी गर्न आफूहरुलाई जिताउन आग्रह गर्दै एमालेका उम्मेदवारले भोट मागिहेका छन् । क्षेत्र नं २ मा बुटवल उपमहानगपालिकाका १ देखि १३ नंसम्मका वडाहरू, सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडाहरु र तिलोत्तमाका १ देखि ६ वडा पर्दछन् ।





प्रतिक्रिया