काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फको मत गणनामा चलखेल हुनसक्ने आशंका गरेका छन् ।
केही पार्टीहरुको मत अस्वभाविक बढेको देखिएको भन्दै ओलीले मत गणनामा बसेका एमाले प्रतिनिधिहरुलाई चनाखो बन्न सचेत गराएका छन् । सामाजिक सञ्जाल मार्फत उनले एकीकृत समाजवादीको समानुपातिक मतको वृद्धिदरलाई संकेत गर्दै सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा अस्वभाविक नतिजा देखिन थालेका बताएका हो ।
गठबन्धनमा रहेको एउटा पार्टीको ३ प्रतिशत मत नकाट्ने भएकाले अरु पार्टीको मत जोड्ने खेल हुनसक्ने भन्दै ओलीले समानुपातिक मत गणनाको मुचुल्का आफ्नो मेसेञ्जरमा पठाउन भनेका छन् ।
यसैबीच, ओलीले निर्वाचनबाट आएको मत परिणामले सहज रूपमा सरकार गठन हुने अवस्था नदेखिएको बताएका छन् । झापा क्षेत्र नं. ५ मा शनिबार आफूलाई निर्वाचित गर्ने मतदाताहरुको घरदैलो कार्यक्रमका क्रममा उनले सरकार गठन गर्नै मुस्किल र टिकाउन झन् मुस्किल हुने जिकीर गरे।
ओलीले मुलुकमा फेरि पनि अस्थिरता ब्याप्त रहने आशंका पनि ब्यक्त गरेका छन् ।





प्रतिक्रिया