देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेलम्चीको पानीले रमाएको काठमाडौं (फोटोफिचर)

देशान्तर

मेलम्चीको पानी काठमाडौंमा तेस्रो पटक वितरण भएसँगै यतिबेला उपत्यकावासीहरु हर्षित छन् । पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण भएसँगै उपत्यकावासीको मुहार पानी छैन भन्ने चिन्ताबाट मुक्त भएको छ । अरु दिन उनीहरुको मुहार उल्लासमय स्पष्ट देख्न सकिन्छ ।

पानी वितरण शुरु भएसँगै उपत्यकाका विभिन्न धाराहरुमा पानी थाप्न बिहानैदेखि मानिसहरुको भीड छ ।

पानी वितरण भएको दिन (शुक्रवार) दिउँसोदेखि नै काठमाडौंका सार्वजनिक स्थानमा रहेका धाराहरुमा पानी थाप्नेहरुको संख्या उल्लेख्य थियो । पानीको अभाव खड्किरहने काठमाडौं उपत्यका यतिबेला मेलम्चीको पानी वितरणसँगै राहत महशुस गरिरहेको छ ।

शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गर्नुभएको थियो । शुभारम्भ कार्यक्रममा उहाँले काठमाडौंवासीलाई अस्थायी रुपमै भएपनि १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाउनुभएको थियो ।

मेलम्चीको पानी महांकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुनेछ ।

हाल काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भएपनि आपूर्ति करिव १२ करोड लिटर मात्रै रहेको थियो । तर शुक्रवारबाट मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरणसँगै अवस्था केही सहज हुनेछ । मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने १७ करोड लिटर खानेपानी पानी भण्डारण पोखरीबाट काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घण्टा काठमाडौं उपत्यका लिमिटेडले बिस्तार गरेको पुरानो पाइपलाइनबाट आलोपालो पानी वितरण हुनेछ ।

न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका मेलम्चीको पानी वितरणसँगै रमाएका काठमाडौंवासीका तस्बिरहरु आजको फोटो फिचरमा ।