देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यू–२३ राष्ट्रिय भलिबल : गण्डकीका दुई खेलाडी छनोट

देशान्तर

काठमाडौं – बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि यू–२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनोटमा परेका छन् ।

नेपाली भलिबल सङ्घले घोषणा गरेको १४ सदस्यीय यू–२३ टिममा गण्डकीबाट बागलुङका रवि केसी र स्याङ्जाका भीमराज गुरुङ छनोट परेका हुन्। बाइस वर्षीय केसी ओपन स्पाइकर र गुरुङ लिबेरो हुन् ।

आउँदो पुस ५ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिमले नेपालका तर्फबाट भाग लिनेछ । देशभरबाट खुला छनोटमा परेका २० खेलाडीमध्ये एक महिनाको बन्द प्रशिक्षणमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा १४ जना खेलाडीको अन्तिम छनोट गरिएको सङ्घले जनाएको छ ।

भलिबल खेलको इतिहासमा पहिलोपटक यू–२३ राष्ट्रिय टिम तयार पारी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो । केसी र गुरुङसँगै धिरोजकुमार बस्नेत, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महत्ता, मनिष मानन्धर, हेमन्त मल्ल, बेदप्रकाश जोशी, सम्राट भण्डारी र गौरव पाण्डे टिममा छन्।

गलकोट नगरपालिका–७ मल्मका केसी भलिबलमा उदाउँदो प्रतिभा हुन् । यू–२३ राष्ट्रिय टिममा परेसँगै उनको खेल करिअर नयाँ मोडमा आइपुगेको छ । देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना साकार हुन लागेको केसीले सुनाए ।

“टिममा पक्कै पर्छु भन्ने लागेको थियो, मेहेनत पनि त्यसैअनुसार गरेको थिएँ, छनोटमा पर्दा खुसी छु”, उनले भने। केसी छोटो अवधिमै भलिबलमा चम्किएका खेलाडी हुन्। दुई वर्षअघि काठमाडौँमा भएको ‘एनभिए कप’बाट उनले राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गरेका थिए ।
गलकोट स्पोर्टस् क्लबबाट रविले उक्त प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जितेका थिए। त्यसयता उनले ‘टाइगर कप’ हुँदै हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेलेका थिए । जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष योगश भण्डारीले खेल कौशल र अनुशासनमा केसी अब्बल रहेको बताए । उनले केसीलाई भलिबलमा भविष्य बोकेको खेलाडीका रूपमा लिए।

बङ्गलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एशोसिएशनको संयोजनमा उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो।