देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वीरगञ्ज महानगरले फोहोर व्यवस्थापन गर्न मोबाइल एप्लिकेशन ल्याउने

देशान्तर

काठमाडौँ – वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको छ ।

द एशिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको हो । महानगर र क्लिन अप नेपालबीच सम्झौता भएसँगै केही दिनमै यो एप्लिकेशन प्रयोगमा आउने वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहले जानकारी दिएका छन् ।

क्लिन अप नेपालले निर्माण गरेको सफा नेपाल नामक एप्लिकेशन एण्ड्रोइड भर्सनमा अहिले उपलब्ध रहेको छ । यो एप्लिकेशनलाई आइओएस भर्सनमा पनि निर्माण गरेर प्रयोगमा ल्याइने क्लिन अप नेपालका रविन्द्र लामिछानेले बताएका छन्।

एप्लिकेशन प्रयोगकर्ताले नगरको कुनै पनि ठाउँमा जथाभावी फोहोर फालेको देखेमा वा फोहोर जम्मा भएको देखेमा फोटो खिचेर एप्लिकेशनमा रिपोर्ट गर्न सक्ने छन् । रिपोर्ट गरेको फोटोको आधारमा स्थान निर्धारण गरेर फोहोर व्यवस्थापनका लागि तत्कालै महानगरको टोली खटिने भएको छ । फोहोर फाल्दै गरेको व्यक्तिसहितको फोटो पठाए फोहोर फाल्नेको पनि पहिचान गरेर उसलाई दण्डित गरिने मेयर सिंहले बताए ।

फोहोर फाल्नेको फोटो खिचेर सूचना दिनेको पहिचान भने गोप्य राखिने उनले बताएका छन्।