काठमाडौँ – भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रश्तुत गरिएको भन्दै आपत्ति जनाएकी छन् । बिहीवार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काठमाडौंमा आयोजना गरेको प्रगति समीक्षा तथा सहकारी सुशासन बुलेटिन विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सहकारीमा भएको समस्या भन्दा बढी समस्या जस्तो बनाएर सहकारीका समस्याहरुको प्रचार गरिएको बताइन् ।
उनले समस्यामा आएका सहकारी औंलामा गन्न सकिने रहेको भन्दै राम्रा कामहरुको प्रचार हुन नसक्नु दुखद् रहेको बताइन् । मन्त्री श्रेष्ठले राम्रा सहकारी खोज्न विदेश जानुपर्ने अवस्था नरहेको भन्दै नेपालभित्र नै राम्रा सहकारी रहेको र महिलाहरुले सञ्चालन गरेको सहकारीहरु अझ उत्कृष्ट रहेको बताएकी छन् ।
उनले सहकारीमा आएको समस्या एकाध शहरमा र शहरउन्मुख क्षेत्रमा भएको भन्दै वास्तविक सहकारीको सिद्धान्त, उदेश्य, मर्म र भावना अनुसार सञ्चालन नभएको ठाउँमा समस्या आएको स्पष्ट पारिन् ।
मन्त्री श्रेष्ठले सहकारीको माध्यमबाट मुलुकमा नै रोजगारी सिर्जना गरी विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै राख्नुपर्ने अपरिहार्य आवश्यक्ता भएको बताएकी छन् । युवाहरुलाई नेपालमा नै राख्न नसकेको खण्डमा केही समयमा नेपाल बालबालिका र बुढापाकाको मुलुक बन्ने स्थिति सिर्जना भएको बताइन् । मन्त्री श्रेष्ठले रोजगारीको सिर्जना गर्न नसक्नुको चुरो कारण पत्ता लगाइ त्यसको समाधान खोज्नुपर्ने बताइन् ।





प्रतिक्रिया